उपत्यकासहित विभिन्न पहाडी क्षेत्रमा वर्षा, तीन दिन सतर्कता अपनाउन आग्रह

2k Shares

काठमाडौं । मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौं उपत्यकासहित देशका विभिन्न पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसमविद्ले आगामी तीन दिनसम्म पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिण तथा पश्चिमी भूभागतर्फ सरदर आसपासमा अवस्थित छ ।

विभागका मौसमविद् रोजन लामिछानेले काठमाडौं उपत्यकामा केही समय वर्षा जारी रहने सम्भावना रहेकाले सडक जलमग्न हुने र केही स्थानमा डुबानसमेत हुन सक्ने बताए । उनले सवारीसाधन चलाउँदा तथा पैदल यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरे ।

वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुनी वायुको प्रभाव देशभर रहे पनि प्रणाली अत्यधिक शक्तिशाली नरहेकाले व्यापक रूपमा भारी वर्षाको सम्भावना कम छ । तर पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने उनले बताए ।

हाल बागमती प्रदेशका चितवन र दोलखा, कोशी प्रदेशका सोलुखुम्बू र मोरङ, लुम्बिनी प्रदेशका रोल्पा, अर्घाखाँची र पाल्पा, कर्णाली प्रदेशको मुगु तथा सुदूरपश्चिम प्रदेशको कैलाली आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

मौसमविद्ले नदी, खोला तथा पहिरोको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार