काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेराम्याक्स खरिदसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा तत्कालीन अध्यक्ष दिगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ ।
अदालतले तत्कालीन अध्यक्ष झा, तत्कालीन बोर्ड सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीलाई भ्रष्टाचार कसुरमा दोषी ठहर गरेको हो । उनीहरूको सजाय निर्धारण भने पछि हुने अदालतले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेराम्याक्स प्रणाली खरिद प्रक्रियामा कानुनी आधार नहुँदा पनि निर्णय गरी राज्यलाई नोक्सानी पुर्याएको आरोपमा तत्कालीन सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १८ व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
टेराम्याक्स प्रणाली अन्तर्राष्ट्रिय कल निगरानी तथा भिओआईपी नियन्त्रणका नाममा खरिद प्रक्रिया अघि बढाइएको थियो । तर पर्याप्त कानुनी व्यवस्था र अध्ययनबिनै प्रक्रिया अघि बढाइएको भन्दै अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गरेको थियो ।