हाटबजारले फेरियो गोदावरीका महिलाको जीवन, करेसाबारीबाट आम्दानीसम्म

1.6k Shares

ललितपुर । केही वर्षअघिसम्म श्रीमान्को कमाइमा मात्रै आश्रित रहेका गोदावरी नगरपालिका–१४ का श्रमिक परिवारका महिलाहरू अहिले आफ्नै उत्पादन बिक्री गरेर आम्दानी गर्न थालेका छन् । स्थानीय तह र संरक्षण तथा विकास संस्था (सिडिओ) नेपालको सहकार्यमा सञ्चालन गरिएको महिलामुखी तरकारी खेती कार्यक्रम र किसान हाटबजारले उनीहरूको आर्थिक जीवनमा सकारात्मक परिवर्तन ल्याएको हो ।

गोदावरी–१४ स्थित विष्णुदेवी मन्दिर परिसरमा आयोजित किसान हाटबजारमा स्थानीय किसानले उत्पादन गरेका ताजा तरकारी, फलफूल, फूल, अचार, जडीबुटीजन्य क्यामोमाइल चिया तथा अगरबत्ती बिक्रीका लागि राखिएको थियो । उत्पादक र उपभोक्तालाई प्रत्यक्ष जोड्ने उद्देश्यले सञ्चालन गरिएको हाटबजारमा स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ।

हाटबजारमा सहभागी किसान नीरा सार्की केही वर्षअघिसम्म परिवारको सम्पूर्ण खर्च श्रीमान्को आम्दानीमा निर्भर रहेको बताउनुहुन्छ। उहाँका अनुसार अहिले आफ्नै करेसाबारीमा उत्पादन गरेको तरकारी बिक्री गरेर आम्दानी गर्न थालेपछि परिवारको आर्थिक अवस्था सुधार हुँदै गएको छ ।

यस्तै किसान चिनीमाया तामाङले सुरुवाती दिनमा आफ्नै परिवारका लागि पर्याप्त तरकारी उत्पादन हुन्छ कि हुँदैन भन्ने चिन्ता भए पनि अहिले बिक्रीका लागि समेत पर्याप्त उत्पादन हुन थालेको बताउनुभयो। उहाँका अनुसार स्थानीय तथा विषादीरहित उत्पादनको माग बढ्दै गएको छ भने एक किलो स्थानीय काँक्रो एक सय रुपैयाँसम्म बिक्री हुन थालेको छ ।

महिलाको जीविकोपार्जन सुदृढ बनाउने उद्देश्यले सिडिओ नेपालले गोदावरी–१४ का २७ परिवारलाई समेटेर महिलामुखी तरकारी खेती कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रमअन्तर्गत खेतीसम्बन्धी तालिम, बिउबिजन, प्राविधिक सहयोग, आवश्यक सामग्री तथा परिवारको स्वास्थ्य बिमाका लागि सहयोग उपलब्ध गराइएको थियो ।

सुरुमा घरछेउको करेसाबारीबाट उत्पादन गरिएको तरकारीले परिवारको आवश्यकता पूरा गरेपछि किसानहरूले अतिरिक्त उत्पादन बिक्री गर्न थालेका थिए । उत्पादन बढेसँगै उचित बजारको अभाव भएपछि किसानले थोक व्यापारीलाई सस्तो मूल्यमा बिक्री गर्नुपर्ने अवस्था थियो ।

यही समस्याको समाधानका लागि सिडिओ नेपाल र गोदावरी नगरपालिका–१४ ले संयुक्त रूपमा किसान हाटबजार सञ्चालन गरेका हुन्। सिडिओ नेपालकी अनिशा मैनालीले स्थानीय किसान र उद्यमीलाई बजारसँग प्रत्यक्ष जोड्ने उद्देश्यले हाटबजार सुरु गरिएको बताउँदै पहिलो चरणमै उपभोक्ताबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको जानकारी दिनुभयो ।

गोदावरी नगरपालिका–१४ का वडाध्यक्ष निरोज वज्राचार्यले हाटबजार स्थानीय उत्पादनको प्रवर्द्धनसँगै महिलाको आर्थिक सशक्तीकरण र स्थानीय अर्थतन्त्र मजबुत बनाउने प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले आगामी दिनमा यस्ता बजार नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको पनि जानकारी दिनुभयो ।

सम्बन्धित समाचार