काभ्रेमा बर्ड फ्लु पुष्टि, ४० हजारभन्दा बढी कुखुरा र हाँस नष्ट

2.1k Shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा बर्ड फ्लु (एच५एन१) संक्रमण पुष्टि भएपछि ४० हजारभन्दा बढी कुखुरा र हाँस नष्ट गरिएको छ। संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा रहेका कुखुरा, हाँस, अण्डा तथा दाना नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ।

जिल्लाको बनेपा नगरपालिका र पनौती नगरपालिकास्थित फार्ममा गरिएको प्रयोगशाला परीक्षणबाट बर्ड फ्लु संक्रमण पुष्टि भएपछि नियन्त्रणका लागि प्रभावित क्षेत्रका करिब ४० हजार कुखुरा र हाँस नष्ट गरिएको हो। साथै, ठूलो परिमाणमा अण्डा र कुखुराको दाना पनि नष्ट गरिएको छ।

पशु सेवा विभागका अनुसार संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा जीवजन्तुको ओसारपसारमा निगरानी बढाइएको छ भने फार्महरूमा जैविक सुरक्षा (बायोसिक्युरिटी) मापदण्ड कडाइका साथ पालना गर्न किसानलाई आग्रह गरिएको छ।

हाल बर्ड फ्लु ११ जिल्लामा फैलिसकेको विभागले जनाएको छ। संक्रमण नियन्त्रणका क्रममा देशभर हालसम्म पाँच लाख ६९ हजारभन्दा बढी कुखुरा तथा हाँस, नौ लाख ८९ हजारभन्दा बढी अण्डा र एक लाख ९५ हजार किलोग्रामभन्दा बढी दाना नष्ट गरिएको छ। सक्रिय संक्रमण भने काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा देखिएको विभागको तथ्यांक छ।

विभागले कुखुरापालक किसानलाई फार्ममा बाहिरी व्यक्तिको प्रवेश नियन्त्रण गर्न, नियमित रूपमा निःसंक्रमण गर्न, अस्वाभाविक रूपमा बिरामी वा मरेका कुखुरा भेटिए तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन तथा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न अनुरोध गरेको छ।

सम्बन्धित समाचार