आज र भोलि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह
1.2k
Shares
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (मङ्गलबार) र भोलि (बुधबार) देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै जाँदा मनसुनी गतिविधि थप सक्रिय बनेको महाशाखाले जनाएको छ ।
पूर्वानुमानअनुसार आज र भोलि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना छ । ती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने जनाइएको छ।
महाशाखाले भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ। साथै सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठूला तथा साना नदी, खोला र नालामा पानीको सतह बढ्न सक्ने भएकाले तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।