काठमाडौं । आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सोमबार ललितपुरको खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् परिसरमा विविध कार्यक्रम गरी मनाइएको छ ।
यस वर्षको धान दिवसमा परम्परागत रोपाइँसँगै आधुनिक प्रविधिको प्रदर्शनलाई विशेष प्राथमिकता दिइयो । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका संयोजक अशोककुमार चौधरीले ड्रोनमार्फत खेतमा मल छरेर कार्यक्रमको उद्घाटन गर्नुभयो। त्यसपछि धान रोप्ने मेसिन (राइस ट्रान्सप्लान्टर) प्रयोग गरी यान्त्रिक रोपाइँको प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा कृषि क्षेत्रमा यान्त्रिकीकरण, जलवायु अनुकूल प्रविधि र उत्पादन लागत घटाउँदै उत्पादकत्व बढाउने उपायमा जोड दिइएको थियो। कृषकलाई आधुनिक प्रविधि अपनाउन प्रेरित गर्ने उद्देश्यले ड्रोन, कृषि उपकरण तथा यान्त्रिक रोपाइँको प्रयोगात्मक प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।
असार १५ लाई नेपालमा राष्ट्रिय धान दिवसका रूपमा मनाइँदै आएको छ । धान रोपाइँसँगै दही–चिउरा खाने परम्पराले यो दिनलाई कृषि संस्कृति र नेपाली जीवनशैलीसँग जोडेको छ ।