राष्ट्रिय धान दिवसमा राष्ट्रपतिको आह्वान : बाँझो जमिनको अन्त्य गरौँ

1.7k Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण र व्यवसायीकरणमार्फत धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्ने बताएका छन्। २३औँ राष्ट्रिय धान दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिक र आकर्षक पेसाका रूपमा विकास गर्न सके विदेश पलायन भइरहेका जनशक्तिलाई स्वदेशमै रोक्न र धान तथा चामलको आयात घटाउन सकिने उल्लेख गरेका छन्।

उनले श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर बन्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउँदै जीविकोपार्जनमा सीमित नभई व्यावसायिक कृषितर्फ अग्रसर हुन सबैलाई आह्वान गरेका छन्। यसका लागि सम्बन्धित निकायले आवश्यक नीति, प्रविधि र सहयोग उपलब्ध गराउनुपर्नेमा पनि उनले जोड दिएका छन्।

राष्ट्रपति पौडेलले असार महिना धान रोपाइँ र कृषि कर्मका दृष्टिले विशेष महत्व बोकेको उल्लेख गर्दै नेपाली जीवनशैली प्रकृति र माटोसँग घनिष्ठ रूपमा जोडिएको बताएका छन्। हिलोमा धान रोप्ने परम्परा र दही–चिउरा, अचारलगायतका परिकारले राष्ट्रिय धान दिवसलाई सांस्कृतिक रूपमा पनि विशेष बनाउने उनले उल्लेख गरेका छन्।

जलवायु परिवर्तनका कारण धानखेतीमा बढ्दो नकारात्मक असर परेको भन्दै उनले यसको प्रभाव न्यूनीकरण गर्न सरकार, कृषक तथा सरोकारवाला सबै पक्ष सचेत र जिम्मेवार बन्नुपर्ने बताएका छन्। जलवायुमैत्री प्रविधिको प्रयोगमार्फत धान उत्पादन र उत्पादकत्व वृद्धि गर्नु आजको आवश्यकता भएको उनको भनाइ छ।

राष्ट्रपतिले नेपालको संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै कृषकलाई कृषि सामग्री, उत्पादनको उचित मूल्य र बजार पहुँच उपलब्ध गराउने संवैधानिक दायित्व प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने बताए।

नेपालमा धानखेती अझै वर्षामा निर्भर रहेकाले उत्पादन स्थायित्वका लागि सिँचाइ पूर्वाधार विस्तारमा राज्यले प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिएका छन्।

यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ २३औँ राष्ट्रिय धान दिवस मनाइँदै छ।

सम्बन्धित समाचार