काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। मन्त्रिपरिषद्को असार ५ गतेको बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
शपथपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई पुँजी बजारको विश्वसनीयता अभिवृद्धि गर्दै लगानीकर्ताको लगानीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए।
उनले कुनै पनि प्रकारको लोभ, प्रलोभन वा बाह्य प्रभावबाट मुक्त भएर निष्पक्ष ढंगले जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै पुँजी परिचालनमार्फत आर्थिक वृद्धिलाई गति दिने वातावरण निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए।
अर्थमन्त्री वाग्लेले पुँजी बजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छ महिनाको तथा एक वर्षे कार्ययोजना तयार गरी कार्यान्वयन गर्न निर्देशन दिँदै ती योजनाको नियमित प्रगति मन्त्रालयमा प्रस्तुत गर्न पनि आग्रह गरे।
बजारमा फैलाइने आधारहीन हल्लाका कारण साना लगानीकर्ता प्रभावित हुने गरेको उल्लेख गर्दै उनले यस्ता गतिविधिलाई प्रभावकारी नियमनमार्फत नियन्त्रण गर्नुपर्नेमा जोड दिए। "धेरै बोलेर होइन, कामबाट परिणाम देखाउनुस्," भन्दै उनले मन्त्रालयबाट हस्तक्षेप नहुने स्पष्ट पार्दै हरेक हप्ता बजारको अवस्थाबारे जानकारी गराउन अध्यक्ष भट्टलाई निर्देशन दिए।
कार्यक्रममा नवनियुक्त अध्यक्ष भट्टले सरकारको नीति र निर्देशनअनुसार पुँजी बजारको विकास, लगानीकर्ताको हित संरक्षण तथा बजार सुधारका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले आफ्नो ज्ञान, अनुभव र दक्षतालाई पुँजी बजारको सुदृढीकरण तथा सरकारको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न उपयोग गर्ने बताउँदै विगतमा भएका अध्ययन तथा सिफारिसहरू कार्यान्वयन गर्दै बजार सुधारलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाए।