डन्डिबियोमा अछाम च्याम्पियन, घैँटोफोरको उपाधि शिशिर रानालाई

4.3k Shares

काठमाडौं । नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित ‘प्रथम मौलिक तथा परम्परागत खेलकुद प्रतियोगिता–२०८३’ सम्पन्न भएको छ ।

नेपाल अल स्पोर्ट्स हबको आयोजना र राष्ट्रिय खेलकुद परिषद्को मुख्य आर्थिक सहयोगमा सम्पन्न प्रतियोगितामा देशका विभिन्न जिल्लाका खेलाडीले परम्परागत खेलमा प्रतिस्पर्धा गरेका थिए ।

नेपालको राष्ट्रिय खेलका रूपमा चिनिएको डन्डिबियो प्रतियोगितामा ७ टोली सहभागी थिए । फाइनलमा अछाम पहिलो, दोलखा दोस्रो तथा थापाथली एकेडेमी तेस्रो भए । विजेता अछाम टोलीमा नरेश बोहरा, खेम कठायत र कृष्ण बोहरा थिए । उपविजेता दोलखा टोलीमा इन्द्रकुमार बस्नेत, कुमार विक र सुमन मोक्तान तथा तेस्रो स्थानमा रहेको थापाथली टोलीमा आरभ श्रेष्ठ, निसान धिमाल र गौरव श्रेष्ठ सहभागी थिए ।

सटपुट प्रतियोगितामा सुरेश डङ्गोल पहिलो, शुभम चाम्लिङ दोस्रो तथा ताराबहादुर रानाभाट तेस्रो भए । घैँटोफोरमा शिशिर राना पहिलो, अनुभव चे खाइजु दोस्रो तथा ताराबहादुर रानाभाट तेस्रो स्थानमा रहे ।

नेपालको प्राचीन बौद्धिक खेलका रूपमा परिचित बाघचालमा कृष्णप्रसाद सिग्देलले उपाधि जिते । विपिन अमात्य दोस्रो तथा इन्द्र बस्नेत तेस्रो भए। आयोजकका अनुसार बाघचालमा २६ खेलाडीको सहभागिता थियो ।

टग अफ वारमा जेन्जी टोली च्याम्पियन बन्यो। विजेता टोलीमा सन्देश बस्नेत, राजु बस्नेत, रबिन खड्का, सन्तोष धामी, रिवाज नेपाल, सौजन्य कोइराला, राहुल थारु र जयस खनाल सहभागी थिए। सगरमाथा दोस्रो तथा माउन्ट एभरेस्ट तेस्रो भए।

बुद्धिचालतर्फ पाँचथरका रिसन थापा प्रथम भए । दोलखाका आशिष फुयाँल दोस्रो, सुमन मोक्तान तेस्रो, पुरुषोत्तम सिलवाल चौथो तथा राजेन्द्रप्रसाद श्रेष्ठ पाँचौँ स्थानमा रहे। शैलेन्द्र न्यौपाने, मुहान नरसिंह श्रेष्ठ, सन्देश श्रेष्ठ, गणेश अवाले र सुरोज महर्जन शीर्ष १० भित्र पर्न सफल भए ।

विजेता खेलाडी तथा टोलीलाई नेपाल उसु महासङ्घका महासचिव नवराज ढुङ्गानाले पुरस्कार वितरण गरेका थिए। कार्यक्रम नेपाल अल स्पोर्ट्स हबका अध्यक्ष दिपेन राईको सभापतित्वमा सम्पन्न भएको थियो ।

मौलिक खेल संरक्षणको ऐतिहासिक प्रयास

आयोजकका अनुसार प्रतियोगिताले नेपाली मौलिक खेललाई राष्ट्रियस्तरमा एकै मञ्चमा ल्याउने ऐतिहासिक प्रयास गरेको छ । विशेषगरी शताब्दीयौँदेखि गाउँघर, चौतारा, मठमन्दिर र सार्वजनिक स्थलमा खेलिँदै आएको बाघचाललाई पहिलो पटक राष्ट्रियस्तरको मौलिक तथा परम्परागत खेलकुद प्रतियोगितामा समावेश गरिएको हो ।

त्यस्तै, नेपालको सांस्कृतिक पहिचानसँग जोडिएको डन्डिबियो, ग्रामीण जीवनसँग अभिन्न रूपमा गाँसिएको घैँटोफोर, टग अफ वारलगायत खेललाई एउटै महोत्सवमार्फत प्रवर्द्धन गरिएको आयोजकले जनाएको छ ।

आधुनिक खेल र प्रविधिको बढ्दो प्रभावका कारण ओझेलमा पर्दै गएका यस्ता मौलिक खेलको संरक्षण, पुस्तान्तरण र पुनर्जीवनमा प्रतियोगिताले महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

आयोजकले यस्ता प्रतियोगिताले नयाँ पुस्तालाई आफ्नै संस्कृति, इतिहास र मौलिक खेलसँग जोड्दै नेपाली परम्परागत खेलको दीर्घकालीन संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

सम्बन्धित समाचार