झापाका सिग्देललाई बाघचालको उपाधि

2.1k Shares

काठमाडौं । नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित प्रथम मौलिक तथा परम्परागत खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत बाघचाल प्रतियोगिताको उपाधि कृष्णप्रसाद सिग्देलले जितेका छन्।

प्रतियोगितामा विपिन अमात्य दोस्रो तथा इन्द्र बस्नेत तेस्रो भए । बाघचालतर्फ कुल २६ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ। विजेताले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

नेपालको मौलिक बौद्धिक खेलका रूपमा परिचित बाघचाल नेपाली समाजमा शताब्दीयौँदेखि रणनीतिक खेलका रूपमा खेलिँदै आएको छ। गाउँघर, चौतारा, मठमन्दिर तथा सार्वजनिक स्थलमा लोकप्रिय रहेको यो खेल पछिल्ला वर्षहरूमा आधुनिक खेल र प्रविधिको प्रभावका कारण ओझेलमा पर्दै गएको छ ।

a336c418-9385-4726-ac0e-8cd653931a90.jpeg

यसै ऐतिहासिक महत्वलाई पुनर्जीवित गर्दै बाघचाललाई पहिलोपटक राष्ट्रियस्तरको मौलिक तथा परम्परागत खेलकुद प्रतियोगितामा समावेश गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामार्फत नयाँ पुस्तालाई आफ्नै सांस्कृतिक सम्पदासँग जोड्दै नेपाली मौलिक खेलप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

यस्तै, प्रतियोगिताअन्तर्गत सम्पन्न टग अफ वारमा टिम जेन्जी च्याम्पियन बनेको छ। विजेता टोलीमा सन्देश बस्नेत, राजु बस्नेत, रबिन खड्का, सन्तोष धामी, रिवाज नेपाल, सौजन्य कोइराला, राहुल थारु र जयस खनाल रहेका थिए। टिम सगरमाथा दोस्रो तथा माउन्ट एभरेस्ट तेस्रो भए ।

विजेता टोली तथा खेलाडीलाई नेपाल उसु महासङ्घका महासचिव नवराज ढुङ्गानाले पुरस्कार वितरण गरेका थिए । उता, बुद्धिचालतर्फ पाँचथरका रिसन थापा प्रथम भए भने दोलखाका आशिष फुयाँल दोस्रो स्थानमा रहे। सुमन मोक्तान तेस्रो, पुरुषोत्तम सिलवाल चौथो तथा राजेन्द्रप्रसाद श्रेष्ठ पाँचौँ भए ।

a28270af-a983-40e9-bd6c-c9bf6bf74092.jpeg

प्रतियोगितामा शैलेन्द्र न्यौपाने, मुहान नरसिंह श्रेष्ठ, सन्देश श्रेष्ठ, गणेश अवाले र सुरोज महर्जन शीर्ष १० खेलाडीभित्र पर्न सफल भएका छन् । छ वटा विधा समेटिएको प्रथम मौलिक तथा परम्परागत खेलकुद प्रतियोगिता–२०८३ मार्फत नेपाली मौलिक खेलहरूको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणलाई थप सशक्त बनाउने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार