काठमाडौं । उत्तर अमेरिका (अमेरिका, मेक्सिको र क्यानडा) मा जारी फिफा विश्वकप–२०२६ को समूह चरण सम्पन्न भएसँगै राउन्ड अफ ३२ को समीकरण पूरा भएको छ। पहिलो पटक ४८ टोलीको सहभागिता रहेको विश्वकपमा ७२ खेलपछि ३२ टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्।
१२ समूहका विजेता र उपविजेता गरी २४ टोली तथा उत्कृष्ट आठ तेस्रो स्थानमा रहेका टोली नकआउट चरणमा पुगेका हुन्। यस संस्करणबाट पहिलो पटक राउन्ड अफ ३२ समावेश गरिएको छ।
साबिक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, पूर्वविजेता ब्राजिल, स्पेन, जर्मनी, इंग्ल्यान्ड तथा उपाधिका दाबेदार पोर्चुगल र नेदरल्यान्ड्सले नकआउट यात्रा तय गरेका छन्। यता, दुई पटकको विश्वविजेता उरुग्वे भने समूह चरणबाटै बाहिरिएको छ। तीनै सहआयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडा भने अन्तिम ३२ मा पुग्न सफल भएका छन्। क्यानडाले घरेलु भूमिमा पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाउँदै इतिहास रचेको छ।

महादेशगत रूपमा हेर्दा युरोपको सबैभन्दा बढी १३ टोली नकआउट चरणमा पुगेका छन्। अफ्रिकाबाट ९ टोली, दक्षिण अमेरिकाबाट ५ टोली, उत्तर अमेरिकाबाट ३ टोली तथा एसियाबाट २ टोलीले अन्तिम ३२ मा स्थान बनाएका छन्। ओसियानाको एकमात्र प्रतिनिधि न्युजिल्यान्ड भने समूह चरणबाटै बाहिरिएको छ।
अफ्रिकाबाट दक्षिण अफ्रिका, मोरक्को, आइभरी कोस्ट, इजिप्ट, केप भर्डे, सेनेगल, डीआर कङ्गो, घाना र अल्जेरियाले नकआउट चरणमा स्थान बनाउँदा ट्युनिसिया मात्र बाहिरियो। दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर र पाराग्वे अघि बढ्दा उरुग्वे बाहिरिएको छ। एसियाबाट जापान र अस्ट्रेलियाले मात्र अन्तिम ३२ मा स्थान बनाउन सफल भए।
राउन्ड अफ ३२ का खेल असार १५ गतेदेखि सुरु हुनेछन्। उद्घाटन खेलमा दक्षिण अफ्रिका र सहआयोजक क्यानडाबीच प्रतिस्पर्धा हुनेछ। त्यसैदिन ब्राजिल र जापान आमनेसामने हुनेछन्। असार १६ गते जर्मनी–पाराग्वे, नेदरल्यान्ड्स–मोरक्को तथा आइभरी कोस्ट–नर्वेबीच खेल हुनेछ। नकआउट चरणमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने भएकाले प्रत्येक खेल ‘गर या मर’ को अवस्थामा हुनेछ।