रोल्पा । रोल्पा प्रहरीले पछिल्ला चार दिनको अवधिमा जिल्लाका विभिन्न स्थानबाट चार वटा भरुवा बन्दुक बरामद गरेको छ। लगातार भइरहेको बरामदीपछि प्रहरीले अवैध हतियार नियन्त्रण अभियानलाई थप तीव्र बनाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार विशेष सूचनाका आधारमा सञ्चालन गरिएको खोजतलासका क्रममा विभिन्न स्थानमा लुकाइएका भरुवा बन्दुक फेला परेका हुन् । बरामद गरिएका सबै बन्दुक प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने ती कसले र कुन प्रयोजनका लागि राखेको भन्ने विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ।
प्रहरीले अवैध हतियार राख्ने वा ओसारपसार गर्ने कार्य कानुनविपरीत भएकाले यस्ता गतिविधिबारे जानकारी भए तत्काल प्रहरीलाई सूचित गर्न सर्वसाधारणसँग आग्रह गरेको छ। साथै, जिल्लाभर अवैध हतियार खोजी तथा नियन्त्रण अभियानलाई निरन्तरता दिइने पनि जनाएको छ।