काठमाडौं । नेपाल अल स्पोर्ट्स हबको आयोजनामा सञ्चालन भइरहेको प्रथम मौलिक तथा परम्परागत खेल प्रतियोगिता अन्तर्गत बुद्धिचाल (चेस) प्रतियोगितामा रिसन थापाले उपाधि जितेका छन् ।
सात चरणमा सम्पन्न प्रतिस्पर्धामा थापाले ६.५ अंक जोड्दै पहिलो स्थान हासिल गरे। काठमाडौं महानगरपालिका–७ सिफलस्थित टेक्सास कलेजमा आयोजित प्रतियोगितामा आशिष फुयाँल दोस्रो तथा सुमन मोक्तान तेस्रो भए ।
यस्तै, खेल महोत्सवअन्तर्गत सम्पन्न टग अफ वार प्रतियोगितामा जेन्जी समूह च्याम्पियन बन्यो। सगरमाथा समूह दोस्रो तथा माउन्ट एभरेस्ट समूह तेस्रो स्थानमा रहे ।
प्रतियोगिताअन्तर्गत आइतबार डण्डिबियो, बाघचाल, घैँटो फोर र सटपुटका प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र नेपाली खेल संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।
टग अफ वारतर्फ विजेता टोलीले १० हजार रुपैयाँ, उपविजेताले ७ हजार र तेस्रो हुने टोलीले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
बुद्धिचालतर्फ प्रथम हुनेले १० हजार रुपैयाँ, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ६ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। चौथो स्थानका खेलाडीले ५ हजार, पाँचौँले ४ हजार, छैटौँले ३ हजार, सातौँले २ हजार तथा आठौँदेखि दशौँ स्थानसम्म रहने खेलाडीले जनही १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन वरिष्ठ पत्रकार ऋषि धमलाले गरेका थिए। उद्घाटन समारोहमा नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
त्यसैगरी नेपाल साइक्लिङ संघका महासचिव रञ्जनराज भण्डारी, भेट्रान चेस खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठ, अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजु, नेपाल बुद्धिचाल महासंघका उपाध्यक्ष तारा बहादुर रानाभाट, उपाध्यक्ष सानुराज बज्राचार्य, कोषाध्यक्ष वीरबहादुर रावल तथा पूर्व राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाईलगायतको उपस्थिति रहेको थियो ।
नेपाल अल स्पोर्ट्स हबको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन समारोह आयोजक समितिका संयोजक दीपेन राईको सभापतित्वमा सम्पन्न भएको थियो ।