सिफलमा पहिलोपटक मौलिक खेल महोत्सव, डण्डिबियोदेखि बाघचालसम्म प्रतिस्पर्धा ६ विधामा हुने
3k
Shares
काठमाडौं । नेपाली मौलिक खेलको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यसहित काठमाडौंमा पहिलोपटक मौलिक तथा परम्परागत खेल प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपाल अल स्पोर्ट्स हबको आयोजनामा हुने प्रतियोगिता काठमाडौं महानगरपालिका–७, सिफल क्षेत्रमा सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा नेपाली समाजको मौलिक पहिचान झल्काउने ६ विधाका खेल समावेश गरिएका छन् ।
प्रतियोगितामा डण्डिबियो, बाघचाल, बुद्धिचाल, रस्साकस्सी, घैँटो फोर र सटपुट मा प्रतिस्पर्धा हुनेछ । यीमध्ये बुद्धिचाल र बाघचालका खेल सिफलस्थित टेक्सास कलेजमा आयोजना गरिनेछ । डण्डिबियो, रस्साकस्सी, घैँटो फोर र सटपुट का प्रतिस्पर्धा सिफलमै सञ्चालन हुनेछन् ।
आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य लोपोन्मुख अवस्थामा पुगेका नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई यस्ता खेलसँग जोड्नु हो। आधुनिक खेलको बढ्दो प्रभावका बीच नेपाली समाजको मौलिक खेल संस्कृतिलाई जीवन्त राख्ने प्रयासस्वरूप प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।
प्रतियोगिता सबैका लागि खुला रहनेछ। विशेषगरी बुद्धिचालतर्फ राष्ट्रियस्तरका खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ, जसले प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तरलाई अझ सशक्त बनाउने विश्वास आयोजकको छ ।
नेपालमा पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय खेलप्रति आकर्षण बढ्दै जाँदा डण्डिबियो, बाघचालजस्ता परम्परागत खेल ओझेलमा पर्दै गएका छन् ।
यस्ता खेलको संरक्षण र प्रवर्द्धनका लागि आयोजना हुन लागेको प्रतियोगिताले खेल संस्कृतिको जगेर्ना, युवा पुस्तामा जागरण तथा मौलिक खेलप्रतिको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।