बैंकिङ प्रणालीमा १२ खर्ब बढी तरलता, राष्ट्र बैंकले फेरि ४५ अर्ब रुपैयाँ खिच्ने

2k Shares

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) निरन्तर बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले थप ४५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । बजारमा कर्जाको माग सुस्त रहँदा बैंकहरूले निक्षेपअनुसार लगानी गर्न नसकेको अवस्था छ । यही कारण बैंकिङ प्रणालीमा हाल १२ खर्ब रुपैयाँभन्दा बढी तरलता थुप्रिएको छ ।

जुन २३ सम्मको तथ्यांकअनुसार बैंकहरूको कुल निक्षेप ८० खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ५९ खर्ब १७ अर्ब रुपैयाँमा सीमित रहेको छ ।

यस अवधिमा बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७२.९६ प्रतिशत रहेको छ। नियामकीय व्यवस्थाअनुसार बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गर्न पाउने भए पनि निजी क्षेत्रबाट कर्जाको माग कमजोर हुँदा लगानी विस्तार हुन सकेको छैन ।

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत नियमित रूपमा बजारबाट पैसा खिच्दै आएको छ। सोही कार्यक्रमअन्तर्गत बुधबार थप ४५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्न लागिएको हो ।

राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । संकलित निक्षेपको अवधि अधिकतम ७५ दिन रहनेछ ।

 
 
सम्बन्धित समाचार