काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको अन्तिम खेलमा जापान र स्वीडेनले १–१ गोलको बराबरी खेलेपछि दुवै टोली नकआउट चरणमा प्रवेश गरेका छन्। बराबरीसँगै जापान पाँच अंकसहित समूह उपविजेता बनेको छ भने स्वीडेन चार अंकसहित उत्कृष्ट तेस्रो स्थानको टोलीका रूपमा अन्तिम ३२ मा पुगेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जापानले ५६औँ मिनेटमा डाइजेन माएडाको गोलबाट अग्रता लिएको थियो। रित्सु डोआनको पासमा माएडाले उत्कृष्ट फिनिस गर्दै टोलीलाई अघि बढाएका थिए।
तर स्वीडेनले धेरै समय पछाडि पर्न दिएन। ६२औँ मिनेटमा एन्थोनी एलाङ्गाले शानदार प्रहारमार्फत बराबरी गोल फर्काए। त्यसपछि दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे पनि थप गोल हुन नसक्दा खेल १–१ को बराबरीमा सकियो।
यस नतिजासँगै जापानले समूह एफमा दोस्रो स्थान सुरक्षित गर्दै अन्तिम ३२ मा पाँच पटकको विश्व च्याम्पियन ब्राजिलसँग भेट पक्का गरेको छ। स्वीडेन भने उत्कृष्ट तेस्रो स्थानको टोलीका रूपमा नकआउट चरणमा पुगेको छ र आफ्नो प्रतिद्वन्द्वीको टुङ्गो अन्य समूहका खेलपछि लाग्नेछ।