अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ७० अर्ब रुपैयाँ तान्दै

1.5k Shares

काठमाडौं । बैंक तथा वित्तीय प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बजारबाट ७० अर्ब रुपैयाँ तान्ने भएको छ ।

राष्ट्र बैंकले ७९ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको जनाएको छ। यसका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई अनलाइन बोलकबोलमा सहभागी हुन आह्वान गरिएको छ ।

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सकिनेछ भने तोकिएको कुल रकमभित्र रहेर बहु–बोलकबोलसमेत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ ।

हाल बैंकिङ प्रणालीमा कर्जा माग अपेक्षाअनुसार नबढ्दा ठूलो परिमाणमा तरलता थुप्रिएको छ । सोही कारण राष्ट्र बैंकले पछिल्ला केही वर्षदेखि नियमित रूपमा निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम तान्दै आएको छ।

केही दिनअघि पनि केन्द्रीय बैंकले ४५ अर्ब रुपैयाँ तरलता व्यवस्थापनका लागि बजारबाट संकलन गरेको थियो । राष्ट्र बैंकले संकलन गरेको मूलधन र ब्याज ७९ दिनपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई फिर्ता गर्नेछ ।

सम्बन्धित समाचार