डानियल मुनोजको निर्णायक गोलमा कोलम्बिया नकआउट चरणमा

1.6k Shares

काठमाडौँ । डानियल मुनोजको दोस्रो हाफको निर्णायक गोलमा कोलम्बियाले फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

समूह ‘के’ अन्तर्गत मंगलबार राति भएको खेलमा कोलम्बियाले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोलाई १–० ले पराजित गर्दै अन्तिम ३२ मा प्रवेश गरेको हो। मुनोजले खेलको ७६औँ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए।

खेलभरि बलमाथि नियन्त्रण कायम गरेको कोलम्बियाले धेरै अवसर सिर्जना गरे पनि कङ्गोका गोलरक्षक लियोनल म्पासीले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई लामो समयसम्म खेलमा टिकाइराखेका थिए। तर अन्ततः जुआन क्विन्टेरोको पासमा मुनोजले गोल गर्दै खेलको निर्णय गरे।

लगातार दोस्रो जितसँगै कोलम्बियाले दुई खेलबाट ६ अंक जोड्दै एक खेल बाँकी छँदै नकआउट चरणमा स्थान पक्का गरेको छ। यसअघि कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ ले हराएको थियो।

अब समूहको अन्तिम खेलमा कोलम्बियाले पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ भने एक अंकमा सीमित कङ्गोले नकआउट सम्भावना जीवित राख्न उज्बेकिस्तानविरुद्ध जित निकाल्नुपर्ने अवस्था रहेको छ।

 
 
सम्बन्धित समाचार