मनसुन कमजोर हुँदा तराईमा गर्मी बढ्ने सम्भावना, वर्षा औसतभन्दा कम हुने संकेत

1.5k Shares

काठमाडौँ । देशभर मनसुन सक्रिय भए पनि यसको प्रभाव कमजोर देखिएकाले तराई क्षेत्रमा गर्मीको प्रभाव बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्। औसतभन्दा कम वर्षा र औसतभन्दा बढी तापक्रम रहने प्रक्षेपणका कारण विशेषगरी तराईका जिल्लामा गर्मीको लहर (हिटवेभ) को जोखिम बढ्ने देखिएको हो।

मौसमविद्हरूका अनुसार अहिले मनसुनको प्रभाव मुख्यतः कोशी, मधेश र बागमती प्रदेशका केही भूभागमा सीमित रहेकाले देशका धेरै स्थानमा पर्याप्त वर्षा हुन सकेको छैन। मनसुन कमजोर रहँदा तराईका जिल्लामा तापक्रम उच्च रहने र तातो हावाको प्रभाव महसुस हुन सक्ने जनाइएको छ।

यसअघि मौसम पूर्वानुमान महाशाखाले केही तराई जिल्लामा ३८ देखि ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुग्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको थियो। विशेषगरी लुम्बिनी, मधेश र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मीको असर बढी पर्न सक्ने अनुमान गरिएको छ।

विशेषज्ञहरूले अत्यधिक गर्मीका कारण स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले दिउँसोको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन र शरीरलाई चिसो राख्न सुझाव दिएका छन्।

यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षा हुने र तापक्रम सामान्यभन्दा उच्च रहने पूर्वानुमान गरिएको छ। यसले कृषि उत्पादन, जनस्वास्थ्य तथा विपद् जोखिममा समेत प्रभाव पार्न सक्ने सरोकारवालाहरूले बताएका छन्।

सम्बन्धित समाचार