घानासँग गोलरहित बराबरीमा रोकियो इङ्ल्यान्ड

3.2k Shares

काठमाडौँ । फिफा विश्वकपअन्तर्गत समूह ‘एल’ को दोस्रो खेलमा इङ्ल्यान्ड र घानाले गोलरहित बराबरी खेलेका छन्। बोस्टन नजिकैको जिलेट स्टेडियममा बुधबार राति भएको खेलमा दुवै टोलीले ०–० को नतिजा निकालेका हुन् ।

६३ हजार ९ सय ८३ दर्शकमाझ भएको खेलमा इङ्ल्यान्डले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राख्दै आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलभर इङ्ल्यान्डले १९ पटक प्रहार गरे पनि घानाका वैकल्पिक गोलरक्षक बेन्जामिन आसारे उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई गोल खानबाट जोगाए । घानाले भने खेल अवधिभर जम्मा दुई पटक मात्र गोलको प्रयास गरेको थियो ।

इङ्ल्यान्डका निको ओ’रेलीले दोस्रो हाफमा गरेको हेड प्रहार बारमा लागेर फर्किएपछि टोली निर्णायक गोल गर्न असफल रह्यो ।

पहिलो खेलमा क्रोएसियामाथि ४–२ को प्रभावशाली जित निकालेको इङ्ल्यान्डले दोस्रो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। खेलभर टोलीको लय युरो २०२४ मा देखिएको कमजोर प्रदर्शनसँग मिल्दोजुल्दो देखिएको थियो ।

बराबरीका बाबजुद दुवै टोलीको अन्तिम ३२ अर्थात् नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनेको छ । दुई खेलबाट इङ्ल्यान्ड र घानाको समान चार–चार अंक रहेको छ ।

इङ्ल्यान्डले अब समूह चरणको अन्तिम खेल शनिबार मेटलाइफ स्टेडियममा पानामाविरुद्ध खेल्नेछ। उक्त खेलमा पराजित नभए इङ्ल्यान्ड अर्को चरणमा प्रवेश गर्नेछ।

विश्वकप इतिहासमा इङ्ल्यान्ड कुनै पनि अफ्रिकी टोलीसँग पराजित नभएको कीर्तिमान यसपटक पनि कायम रह्यो । फिफा वरीयतामा इङ्ल्यान्डभन्दा ६९ स्थान तल रहेको ७३औँ वरीयताको घानाले उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गरेको थियो । समूह चरणको पहिलो खेलमा इङ्ल्यान्डले क्रोएसियालाई ४–२ ले तथा घानाले पानामालाई १–० ले पराजित गरेका थिए।

यता, विश्वकपअन्तर्गत गएराति भएको अर्को खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको थियो । आज बिहान पानामा र क्रोएसियाबीच तथा त्यसपछि कोलम्बिया र कङ्गोबीच प्रतिस्पर्धा हुँदैछ ।

 
 
सम्बन्धित समाचार