रेकर्डधारी रोनाल्डोको दुई गोलमा पोर्चुगलको शानदार जित

1.8k Shares

एजेन्सी । विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा क्रिस्टियानो रोनाल्डोले ऐतिहासिक कीर्तिमान बनाउँदै दुई गोल गरेपछि पोर्चुगलले उज्बेकिस्तानलाई ५–० ले पराजित गरेको छ । रोनाल्डोले खेलको छैटौं मिनेटमै गोल गर्दै पुरुष विश्वकप इतिहासमा लगातार छ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् ।

ह्युस्टनमा भएको खेलमा पोर्चुगलका लागि रोनाल्डोले पहिलो हाफमा दुई गोल गरे । नुनो मेन्डेसले अर्को गोल थप्दा दोस्रो हाफमा उज्बेकिस्तानका गोलरक्षक उत्किर नेमातोभको आत्मघाती गोल र राफायल लिआओको गोलले पोर्चुगलको जित अझ फराकिलो बनायो ।

portugal.jpeg

यसअघि समूह चरणको पहिलो खेलमा डीआर कङ्गोसँग १–१ को बराबरी खेलेको पोर्चुगलले आलोचनाको सामना गरिरहेको थियो। तर उज्बेकिस्तानविरुद्धको प्रभावशाली प्रदर्शनसँगै रोबर्टो मार्टिनेजको टोलीले चार अंक जोड्दै समूहको शीर्ष स्थानका लागि बलियो दाबी प्रस्तुत गरेको छ ।

४१ वर्षीय रोनाल्डोको यो प्रदर्शनले उनीमाथि उठिरहेका प्रश्नहरूलाई पनि जवाफ दिएको छ । उनले विश्वकपमा आफ्नो व्यक्तिगत गोल संख्या १० पुर्‍याउँदै पोर्चुगलका महान खेलाडी युसेबियोलाई पछि पारेका छन् ।

उज्बेकिस्तानले एकपटक गोल गरे पनि भिडियो सहायक रेफ्री (VAR) को निर्णयपछि उक्त गोल मान्यता पाउन सकेन । पोर्चुगलले अब समूह ‘के’ को अन्तिम खेलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचार