काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ मा आज पोर्चुगलले उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा डेमोक्रेटिक रिपब्लिक अफ कंगोसँग १–१ को बराबरीमा रोकिएको पोर्चुगल दोस्रो खेलमा जित निकाल्दै नकआउट चरणतर्फको सम्भावना बलियो बनाउन चाहन्छ ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोमाथि सबैको ध्यान केन्द्रित भएको छ । ४१ वर्षीय रोनाल्डोले पछिल्ला प्रमुख प्रतियोगिताहरूमा गोल गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । यद्यपि प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डोप्रति पूर्ण विश्वास व्यक्त गर्दै उनको अनुभव र नेतृत्व टोलीका लागि महत्वपूर्ण रहेको बताएका छन् ।
पहिलो खेलमा अग्रता लिए पनि पोर्चुगलले लय जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनुपरेको थियो । त्यसपछि टोलीभित्रको संरचना र अनुशासन सुधार गरेर मैदानमा उत्रिने तयारी गरिएको प्रशिक्षक मार्टिनेजको भनाइ छ ।
उता, उज्बेकिस्तान पहिलो खेलमा कोलम्बियासँग ३–१ ले पराजित भएको थियो । विश्वकपमा पहिलोपटक सहभागी भएको मध्य एसियाली टोलीले पोर्चुगलविरुद्ध अप्रत्याशित नतिजा निकाल्ने लक्ष्य राखेको छ ।
रोनाल्डोलाई सुरुवाती रोजाइमा राख्ने वा विश्राम दिने विषयमा विभिन्न अड्कलबाजी भइरहे पनि प्रशिक्षक मार्टिनेजले अन्तिम टोली सार्वजनिक नगरेका कारण सस्पेन्स कायम छ ।
समूह ‘के’ मा कोलम्बिया शीर्ष स्थानमा रहेकाले पोर्चुगलका लागि यो खेल अत्यन्त महत्वपूर्ण मानिएको छ । जित हात पार्न सके पोर्चुगलको नकआउट चरण यात्रा सहज बन्नेछ भने अर्को खराब नतिजाले दबाब अझ बढाउनेछ ।