हुलाकी सडकको कटहरी खण्डमा तीन ट्रक फसे, आवागमन प्रभावित

1.8k Shares

विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी खण्डमा तीनवटा मालबाहक ट्रक एकै स्थानमा फसेपछि सवारी आवागमन प्रभावित भएको छ।

हाटखोला–कटहरी सडक खण्डमा वर्षाका कारण कच्ची सडक हिलाम्मे बनेपछि लोड बोकेका तीन ट्रक खाल्डोमा फसेका हुन्। ट्रक फसेपछि उक्त क्षेत्रमा मालबाहक सवारीसाधनको आवागमन रोकिएको छ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार फसेका सवारीसाधन निकाल्न आवश्यक उपकरण पठाइएको छ। बर्खाको समयमा कच्ची सडक र अत्यधिक भारका कारण यस्ता समस्या दोहोरिने गरेको उनले बताए।

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गअन्तर्गत मोरङको हाटखोलादेखि कटहरीको रामचोकसम्म करिब ६ किलोमिटर सडक लामो समयदेखि अस्तव्यस्त अवस्थामा छ। २०७६ सालमा ठेक्का लिएको निर्माण कम्पनीले काम सम्पन्न नगरेपछि ठेक्का सम्झौता रद्द गरिएको थियो।

योजना कार्यालयले अब उक्त खण्डका लागि नयाँ ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ। मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले लागत अनुमान स्वीकृत भएपछि यसै साता नयाँ ठेक्काको सूचना प्रकाशित गरिने तयारी रहेको कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार