मेची करिडोरको ९.५ किलोमिटर सडकको ठेक्का रद्द, ४७ प्रतिशत मात्रै काम सम्पन्न

939 Shares

काठमाडौं । मेची करिडोरअन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता रद्द गरिएको छ। पटकपटक म्याद थप गर्दा पनि अपेक्षित प्रगति हुन नसकेपछि २७ करोड २२ लाख रुपैयाँ लागतको उक्त आयोजनाको ठेक्का रद्द गरिएको हो।

केचना–कञ्चनजंघा सडकअन्तर्गत पर्ने ९.५ किलोमिटर सडक स्तरोन्नतिको काम २०८० पुस २९ भित्र सम्पन्न हुनुपर्ने थियो। तर, पटकपटक म्याद थप गर्दा पनि आयोजनाको भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि मन्त्रालयअन्तर्गतको सडक डिभिजनले ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय गरेको हो।

यसैबीच, इलामस्थित सडक डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ। सम्झौता अन्त्य गरिएका आयोजनामा निर्माण व्यवसायीबाट पेस्कीबापतको दुई करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ।

त्यसैगरी, छ करोड ७९ लाख रुपैयाँ बराबरको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको कार्यालयले जनाएको छ।

ठेक्का सम्झौता रद्द गरिएको बेलासे–गोलाखर्क भञ्ज्याङ सडकखण्डको निर्माणलाई निरन्तरता दिन नयाँ ठेक्का प्रक्रिया अघि बढाइने भएको छ। त्यसका लागि आवश्यक स्रोत सहमति तथा बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी निर्माण प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ।

सडक स्तरोन्नतिको काम लामो समयसम्म अलपत्र परेपछि अब नयाँ ठेक्कामार्फत आयोजना सम्पन्न गर्ने बाटो खोलिएको छ।

सम्बन्धित समाचार