रास्वपा राष्ट्रिय राजनीतिमा बलियो रूपमा स्थापित भएको छ : गगन थापा

1.6k Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी बन्ने ऐतिहासिक अवसर भएको बताएका छन्।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। सो अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै थापाले छोटो समयमै उल्लेखनीय जनसमर्थन प्राप्त गर्दै रास्वपाले राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गर्न सफल भएको बताएका हुन्।

उनले सभापति रवि लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको उल्लेख गर्दै यसले पार्टीको राजनीतिक उपस्थितिलाई थप मजबुत बनाएको बताए।

‘पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ । तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ,’ थापाले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

थापाले महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासलाई आत्मसात् गर्दै संविधानप्रदत्त नागरिक अधिकारको संरक्षणमा पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी बनाउने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित समाचार