सरकारसँग सहमति भएपछि डा. गोविन्द केसीले तोडे २५औँ सत्याग्रह

974 Shares

काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै इलाममा अनशनरत प्रा. डा. गोविन्द केसीले सरकारसँग सहमति जुटेसँगै आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन् ।

आज बिहान सरकार र डा. केसीबीच विभिन्न माग सम्बोधन गर्ने विषयमा सहमति भएपछि उनले सत्याग्रहका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका हुन् ।

सहमतिअनुसार चिकित्सा शिक्षा आयोगको असोज ३० गतेको निर्णयबमोजिम सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालनका लागि अनुमति तथा सिट निर्धारणको प्रक्रिया अघि बढाइनेछ ।

त्यसैगरी, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान (आर्मी मेडिकल कलेज) मा एमबीबीएसतर्फ सिट थप गर्ने निर्णय निर्धारित मापदण्डअनुसार भए–नभएको छानबिन गर्न प्रा. डा. रमेशप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिने भएको छ । समितिले प्रतिवेदन बुझाएपछि र सरकारले त्यसका सुझाव कार्यान्वयन गरेपछि चिकित्सा शिक्षा साझा प्रवेश परीक्षाबाट उत्तीर्ण विद्यार्थीको म्याचिङ प्रक्रिया अघि बढाइने सहमति भएको छ ।

कार्यक्रम सञ्चालनको अनुमति दिँदा वा सिट थप गर्दा मापदण्ड उल्लङ्घन अथवा स्वार्थको द्वन्द्व देखिएमा संलग्न आयोग, विश्वविद्यालय र मेडिकल कलेजका पदाधिकारीलगायतलाई कारबाहीको दायरामा ल्याइने पनि सहमतिमा उल्लेख छ ।

यस्तै, दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ मा पदाधिकारीको योग्यता तथा नियुक्तिसम्बन्धी आवश्यक संशोधन गरी दुई साताभित्र मन्त्रिपरिषद्बाट अध्यादेश जारी गर्ने सहमति भएको छ । अध्यादेश जारी भएपछि नयाँ पदाधिकारी नियुक्तिको प्रक्रिया तत्काल अघि बढाइने जनाइएको छ ।

डा. केसीको २४औँ सत्याग्रहका क्रममा गत साउन ११ गते भएको सहमतिका कार्यान्वयन हुन बाँकी बुँदा पनि अक्षरशः कार्यान्वयन गरिने भएको छ । त्यसका लागि सरकार र डा. केसी पक्षका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिनेछ । कार्यदलमा सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालसमेत रहनेछन् ।

यसैगरी, डडेल्धुरा, इलाम र उदयपुरमा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बजेट विनियोजन तथा आवश्यक पूर्वाधार विकासको काम अघि बढाउने सरकारको प्रतिबद्धता छ । बर्दिबासमा मेडिकल कलेज स्थापना तथा सञ्चालनको प्रक्रिया पनि तत्काल अघि बढाइने सहमति भएको छ ।

सहमति पत्रमा सरकारका तर्फबाट शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र डा. गोविन्द केसीले हस्ताक्षर गरेका छन् । सहमतिसँगै लामो समयदेखि जारी सत्याग्रह अन्त्य भएको छ ।SAHAMATI-2.jpgSAHAMATI-1.jpg

सम्बन्धित समाचार