कांग्रेस संकटमा, देउवा विदेशमा : स्वदेश फर्किने संकेत

1.4k Shares

३ असार, काठमाडौं ।नेपाली कांग्रेस भित्रको आन्तरिक द्वन्द्व यतिबेला चरम बिन्दुमा पुगेको छ। पार्टी विभाजनको संघारमा उभिएको अवस्थामा निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने झण्डै चार महिनादेखि विदेशमै छन्।

देउवा गत फागुनमा प्रतिनिधिसभा निर्वाचनको माहोल तातेको बेला सपरिवार सिंगापुर गएका थिए। १३ फागुन राति नेपाल छाडेका उनी चैतको पहिलो साता हङकङ पुगेका हुन्। त्यतिबेला सचिवालयले नियमित स्वास्थ्य उपचारपछि थप उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी भई स्वदेश फर्किने जनाएको थियो। तर हङकङ पुगेको करिब तीन महिना बित्न लाग्दा पनि उनी नेपाल फर्किएका छैनन्।

कांग्रेसभित्र नेतृत्व र वैधानिकताको विवाद उत्कर्षमा पुगिरहेका बेला देउवाको लामो विदेश बसाइले राजनीतिक वृत्तमा प्रश्न जन्माएको छ। विशेषगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको घेरामा परेका देउवा र उनकी पत्नी डा. आरजु राणा स्वदेश नफर्किएका कारण ‘अनुसन्धानबाट जोगिन विदेशमै बसेको’ आरोपसमेत लाग्दै आएको छ।

तर पछिल्लो समय देउवा दम्पतीले विदेशबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पठाएको पत्रमा आफूहरू ‘फरार’ नभएको दाबी गर्दै स्वदेश फर्किन चाहेको संकेत दिएका छन्। पत्रमा स्वदेश फर्किँदा तत्काल पक्राउ वा धरपकड नहुने सुनिश्चितता चाहिएको उल्लेख छ। साथै, फर्किएपछि अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

देउवा दम्पतीले पत्रमार्फत आफूहरू उपचारका क्रममा रहेका बेला उजुरी परेको र त्यसपछि अनुसन्धान अघि बढेको उल्लेख गरेका छन्। बुढानीलकण्ठस्थित निवासमा गरिएको खानतलासीबाट नगद वा बहुमूल्य गहना नफेला परेको भन्दै त्यसपछिको अनुसन्धानप्रति प्रश्न उठाइएको छ।

यसअघि देउवा दम्पतीविरुद्ध जिल्ला अदालतबाट जारी पक्राउ पुर्जी सर्वोच्च अदालतले खारेज गरिसकेको छ। अध्यादेशमार्फत सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विशेष अदालतको क्षेत्राधिकारमा पुगेपछि जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा पक्राउ गर्नु उचित नहुने सर्वोच्चको ठहर थियो।

स्रोतका अनुसार पार्टीकै केही नेताहरूले सम्भावित धरपकडको जोखिम देखाउँदै देउवालाई तत्काल स्वदेश नफर्किन आग्रह गरेका कारण पनि उनको विदेश बसाइ लम्बिएको हो। चिकित्सकले पनि केही समय आराम गर्न सुझाएको बताइन्छ।

देउवा दम्पतीले पत्रमा दुई महिनाभित्र नेपाल फर्किएर विभागलाई जानकारी गराउने उल्लेख गरेका छन्। कांग्रेसको आन्तरिक संकट र नेतृत्व विवादको घडीमा देउवाको स्वदेश फिर्ती कहिले र कुन परिस्थितिमा हुन्छ भन्ने विषयमा अहिले राजनीतिक वृत्तको ध्यान केन्द्रित भएको छ।

 
सम्बन्धित समाचार