नेतृत्व व्यवस्थापनमा नयाँ अभ्यास : रास्वपाले भूपदेवलाई सुम्पियो जिम्मेवारी

1.3k Shares

 

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी को पहिलो महाधिवेशन असार ७ गतेदेखि चितवनमा हुँदैछ। पार्टीको पहिलो महाधिवेशनमा सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह पक्षबीच नेता व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने आँकलन सुरु भएको छ। तर पार्टी नेताहरू भने रास्वपा एक ढिक्का भएकाले गुट–उपगुटको समस्या नरहेको दाबी गर्छन्।

सह–महामन्त्री विपिन आचार्य ले पार्टीमा कुनै गुट नरहेको र पहिलो महाधिवेशनले एकता, दृढता र सर्वस्वीकार्यताको सन्देश दिने बताए। उनका अनुसार योग्यता पुगेकाले लोकतान्त्रिक प्रक्रियामार्फत निर्वाचनमा भाग लिएर पद सुरक्षित गर्न सक्नेछन्।

यद्यपि, वरिष्ठ नेता वालेन्द्र शाहले आफ्ना नेताहरूको व्यवस्थापनको जिम्मेवारी महामन्त्री भूपदेव शाह लाई दिएका छन्। बालेननिकट स्रोतका अनुसार भूपदेवले आफ्नो पक्षका नेताहरूलाई उपयुक्त जिम्मेवारी दिलाउन आन्तरिक तयारी गरिरहेका छन्। तर भूपदेवले भने आफू अहिले जिल्लाजिल्ला पुगेर पार्टी एक ढिक्का बनाउने अभियानमै रहेको र गुटको आशंका आवश्यक नरहेको प्रतिक्रिया दिएका छन्।

महामन्त्री पद सुरक्षित गर्ने प्रयास

पार्टी स्रोतका अनुसार भूपदेवले बालेन पक्षका नेताहरूको व्यवस्थापनका लागि प्रदेश र जिल्लास्तरमा आफूनिकटहरूको सूची बनाइरहेका छन्। पहिलो महाधिवेशनपछि पनि महामन्त्री पद सुरक्षित राख्न उनी सक्रिय रहेको बताइन्छ। बालेननिकट नेताहरू भूपदेवलाई दोहोर्‍याएर महामन्त्री बनाउने तयारीमा रहेको दाबी गर्छन्। पार्टी विधानमा दुई महामन्त्रीको व्यवस्था ल्याइने र एक महामन्त्री बालेन पक्षबाट भूपदेव तथा अर्को रवि पक्षबाट हुने सम्भावना रहेको चर्चा छ।

बालेनको विश्वास

भूपदेव वालेन्द्र शाहका पुराना सहयात्री हुन्। काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि उनले बालेनलाई साथ दिएका थिए। आछाम–२ बाट चुनाव हारेपछि बालेनकै जोडबलमा उनी पार्टी महामन्त्री बनेका थिए। अहिले पनि बालेनले उनलाई सरकारतर्फ कुनै जिम्मेवारी नदिई पार्टी संगठनमै केन्द्रित गराएका छन्।

रवि पक्ष बलियो

जिल्ला अधिवेशनका नतिजाले रवि पक्ष संगठनात्मक रूपमा बलियो देखिएको छ। करिब ५६ जिल्लामा रवि पक्षले सभापति जितेको तथ्यांक छ भने बालेन पक्षले करिब १० जिल्लामा मात्रै सभापति जितेको बताइन्छ। यद्यपि, सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा वालेन्द्र शाह निर्विकल्प हुने लगभग निश्चित देखिन्छ।

नेताहरूले पहिलो महाधिवेशनबाट सकेसम्म धेरै पदमा सर्वसम्मतिको सन्देश दिन प्रयास भइरहेको बताएका छन्। नेता गणेश पराजुली ले पार्टीमा कुनै गुट नरहेको दाबी गर्दै योग्यता पुगेकाले केन्द्रीय सदस्य र सचिवालयमा दाबी गर्न पाउने स्पष्ट पारे। उनका अनुसार रास्वपा समावेशिता र समानुपातिक सहभागिताको सिद्धान्तमा अघि बढ्नेछ।

 
 
सम्बन्धित समाचार