नेपालगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान सरकारले गर्ने हरेक सकारात्मक र जनहितकारी काममा आफ्नो पार्टीको समर्थन र सहयोग रहने बताएका छन्।
अवधी पत्रकार सङ्घ नेपालले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकार गठन भएको केही समय मात्र भएको भन्दै अहिले नै सरकारका कामकारबाहीबारे कठोर टिप्पणी गर्नु उपयुक्त नहुने बताए।
उनले देशमा विगत ३४ वर्षसम्म पुराना राजनीतिक दलहरूले शासन गरे पनि अपेक्षाअनुसार विकास र परिवर्तन हुन नसकेको उल्लेख गर्दै त्यसकै परिणामस्वरूप ‘जेनजी आन्दोलन’ जस्ता नयाँ राजनीतिक दबाबहरू देखिएको टिप्पणी गरे। उनले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारलाई केही समय काम गर्ने अवसर दिनुपर्ने धारणा राखे।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका यादवले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेर संसद्मा अपुष्ट र गैरजिम्मेवार अभिव्यक्ति दिन नहुने टिप्पणी गरे। उनले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको भन्ने आशयका अभिव्यक्ति प्रमाणबिनाका हुन सक्ने भन्दै यस्ता विषयमा जिम्मेवार भएर मात्र बोल्नुपर्ने बताए।
उनले भारतले समेत दाबी नगरेको विषयलाई संसद्मा उठाउनु हतारमा गरिएको वा पर्याप्त जानकारीबिनाको टिप्पणीका रूपमा बुझ्नुपर्ने बताए।
सरकारले सुरुआती चरणमा केही सकारात्मक काम गरेको भए पनि केही निर्णयहरू हतारमा भएको उल्लेख गर्दै उनले सरकार सही दिशामा अघि नबढे देशले फेरि राजनीतिक र प्रशासनिक चुनौती सामना गर्नुपर्ने चेतावनी दिए।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय सचिव कमरुद्दीन राई, केन्द्रीय सदस्य बाबु खान पठान तथा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले लगायतको उपस्थिति रहेको थियो।