राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य तथा संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पुराना राजनीतिक दलहरूसँग आफ्नो पार्टीको अब व्यक्तिगत वा राजनीतिक लडाइँ नरहेको बताएका छन्।
रास्वपा धनकुटाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पुराना दलहरूलाई गाली गरेर समय खेर फाल्ने छुट रास्वपालाई नभएको उल्लेख गरे। उनका अनुसार जनताले पुराना राजनीतिक शक्तिको मूल्याङ्कन गरिसकेका छन् र अब पार्टीको ध्यान देशका वास्तविक समस्यातर्फ केन्द्रित हुनुपर्नेछ।
परियारले रास्वपाको मुख्य संघर्ष गरिबी, असमानता, विभेद, भ्रष्टाचार र बेरोजगारीविरुद्ध रहेको बताए। उनले किसानले उत्पादनको उचित मूल्य नपाउने अवस्था, युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भइरहनु तथा सामान्य उपचार नपाएर नागरिकले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न पार्टी प्रतिबद्ध रहेको बताए।
उनले “गाली गरेर होइन, काम गरेर देश बदल्ने” लक्ष्यसहित रास्वपा अघि बढिरहेको दाबी गर्दै आगामी स्थानीय तथा प्रादेशिक निर्वाचनलाई लक्षित गरी धनकुटालाई ‘घण्टीमय’ बनाउने अभियानमा जुट्न कार्यकर्तालाई आह्वान गरे।