काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशङ्करबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। शनिबार साँझ भएको भेटमा व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विविध विषयमा विस्तृत छलफल भएको हो।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्री वालेन्द्र शाह, नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट भारत सरकार र भारतीय जनताप्रति शुभकामना तथा अभिवादन व्यक्त गरेका थिए। उनले गत अप्रिलमा मौरिससमा आयोजित नवौँ इन्डियन ओसियन सम्मेलनका क्रममा भएको भेट फलदायी रहेको स्मरण गर्दै पुनः संवादको अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरे।
मन्त्री खनालले नेपालको नयाँ सरकारले सुशासन, आर्थिक रूपान्तरण र परिणाममुखी कूटनीतिलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै भारतसँगको सम्बन्धलाई अझ सुदृढ र रूपान्तरणकारी बनाउने दृढ प्रतिबद्धता व्यक्त गरे। उनले नेपाल–भारत सम्बन्ध केवल दुई देशबीचको सम्बन्ध नभई साझा सभ्यता, संस्कृति र ऐतिहासिक निकटतामा आधारित रहेको बताए।
उनले कठिन परिस्थितिमा भारतले नेपाललाई निरन्तर साथ दिएको उल्लेख गर्दै इन्धन, मल आपूर्ति तथा विभिन्न संकटका समयमा प्राप्त सहयोगका लागि भारतप्रति आभार व्यक्त गरे। साथै, आगामी उच्चस्तरीय भ्रमण र सहकार्यका लागि वर्तमान संवादले नयाँ आधार तयार गर्ने विश्वास व्यक्त गरे।
त्यसैगरी भारतीय विदेशमन्त्री डा. जयशङ्करले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल–भारत सम्बन्ध आपसी विश्वास, जनस्तरको निकटता, सांस्कृतिक तथा धार्मिक सम्बन्धका आधारमा मजबुत बनेको बताए।
उनले व्यापार, लगानी, ऊर्जा, शिक्षा, विकास सहकार्य र विपद् व्यवस्थापनका क्षेत्रमा दुई देशबीचको सहकार्य निरन्तर विस्तार भइरहेको उल्लेख गर्दै स्टार्टअप, कृत्रिम बौद्धिकता, सूचना प्रविधि तथा नवीकरणीय ऊर्जाजस्ता नयाँ क्षेत्रमा समेत सहकार्यका प्रशस्त सम्भावना रहेको बताए।
जयशङ्करले खुला सीमाको सुरक्षा र संकटका बेला एकअर्कालाई सहयोग गर्ने परम्परा नेपाल–भारत सम्बन्धको विशेषता भएको उल्लेख गर्दै पश्चिम एसियामा जारी तनावका बीच पनि नेपालका लागि इन्धन आपूर्ति निरन्तर सुनिश्चित गरिएको बताए।
उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालसँग दुवै देशको हितका लागि मिलेर अघि बढ्ने प्रतिबद्धता पुनः दोहोर्याउँदै वर्तमान परिस्थितिले भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अवसर प्रदान गरेको धारणा व्यक्त गरे।