नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजान सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल

2.1k Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार र सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

भारतीय सञ्चारमाध्यम ‘एनडिटिभी’सँगको विशेष संवादमा मन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना भएको करिब चार वर्षमै जनसमर्थनका आधारमा सरकारको नेतृत्वमा पुगेको उल्लेख गर्दै दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले खुला सीमाना भए पनि नेपाल र भारतले एकअर्काको सुरक्षा चासोलाई सम्मान गर्दै आएको उल्लेख गर्दै व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि तथा सम्पर्क सञ्जालका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

मौरिससमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग भएको भेटको प्रसंग उल्लेख गर्दै मन्त्री खनालले सम्भावित सबै क्षेत्रमा सहकार्य बढाउनुपर्ने धारणा राख्नुभयो। बंगलादेशमा नेपाली विद्युत् निर्यातका लागि भारतको सहयोग निरन्तर रहने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

“विगतका विषयलाई लिएर होइन, पारस्परिक लाभ र सकारात्मक भविष्यलाई केन्द्रमा राखेर कूटनीतिक सम्बन्धलाई उपयोग गर्नेछौं,” मन्त्री खनालले भन्नुभयो।

रास्वपा सभापति रवि लामिछानेको हालैको भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी र भारत सरकारबाट प्राप्त स्वागतले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने वातावरण बनेको उहाँको भनाइ थियो।

नेपालमा रेलमार्ग विस्तार, शैक्षिक संस्थाको विकास तथा प्रविधि क्षेत्रमा छिट्टै ठोस सहकार्यका लागि सहमति हुनेमा मन्त्री खनालले विश्वास व्यक्त गर्नुभयो।

सम्बन्धित समाचार