काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषयहरू कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन्।
पाँच दिने भारत भ्रमण सकेर शुक्रबार नेपाल फर्किएका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कूटनीतिक विषयलाई ठूलो हल्ला र प्रचारबाजीका रूपमा अघि बढाउन नहुने धारणा राखे।
सीमा विवादबारे सोधिएको प्रश्नमा उनले यस्ता विषय समाधानका लागि कूटनीतिक च्यानल सक्रिय बनाउनु नै सबैभन्दा प्रभावकारी उपाय हुने बताए।
उनले भने, “कुनै पनि विषय कूटनीतिक माध्यमबाट, डिप्लोमेटिक च्यानल एक्टिभ गराएर गरिने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ। त्यसको आवाज हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन।”
देशको हितसँग जोडिएका विषयहरू आवश्यक स्थानमा चरणबद्ध रूपमा उठाउनुपर्ने उल्लेख गर्दै उनले कूटनीतिक प्रक्रियाको आफ्नै मर्यादा र संवेदनशीलता हुने बताए।
लामिछानेले कूटनीतिक विषयलाई जिम्मेवारीपूर्वक बुझ्न आग्रह गर्दै देशको ठूलो राजनीतिक शक्तिले उठाउने मुद्दाको महत्व र संवेदनशीलता बुझ्न नसकिए कूटनीतिक रूपमा त्यसको प्रभाव कम हुने बताए।
उनका अनुसार लोकप्रियता हासिल गर्न चर्का अभिव्यक्ति दिन सजिलो भए पनि वास्तविक समस्या समाधानका लागि निश्चित प्रक्रिया र चरणहरू पूरा गर्न आवश्यक हुन्छ।
“लोकप्रियताका लागि सजिलो हुन्छ, तर समस्या समाधान गर्न त्यसको चरण हुन्छ। कूटनीतिका पनि चरण हुन्छन्। सही समयमा सही ठाउँमा यस्ता कुरा राख्न नेपालले हिजो पनि राख्थ्यो, आज पनि राख्छ,” उनले भने।