काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार गठन भएको छोटो समयमै देशको राजनीति पुरानै खालका विवाद र अवरोधतर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नयाँ पार्टीको नेतृत्वमा बनेको सरकारप्रति जनतामा आशा रहे पनि राजनीतिक दलहरू पुरानै दलीय खिचातानी र दन्तबझानमा अल्झिन थालेको संकेत देखिएको बताएका छन्।
उनले संसद अवरुद्ध हुने, जनजीविकासँग जोडिएका विषय ओझेलमा पर्ने र राजनीतिक अस्थिरता दोहोरिने अवस्था सिर्जना हुनु दुःखद भएको उल्लेख गरेका छन्।
भट्टराईले सरकारका कमजोरी र त्रुटिको आलोचना गर्नुपर्ने भए पनि उसलाई आफ्नो कार्यकालभर काम गर्ने अवसर दिनुपर्ने धारणा राखेका छन्। लोकतान्त्रिक व्यवस्थामा सरकारको मूल्यांकन निर्वाचनमार्फत हुने भएकाले काम गर्न नसके जनताले नै आगामी चुनावमा उचित फैसला गर्ने उनको भनाइ छ।
उनले मुलुकलाई पुनः अस्थिरताको चक्रमा धकेल्ने प्रयास कसैका लागि पनि स्वीकार्य नहुने उल्लेख गर्दै गरिबी, बेरोजगारी र विकासका चुनौती समाधानतर्फ सबै राजनीतिक शक्ति केन्द्रित हुनुपर्ने बताएका छन्।
राजनीतिमा पुस्तान्तरणको प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै भट्टराईले नेपाली राजनीति अब पुरानै ढाँचामा फर्किन नसक्ने दाबी गरे। उनले नयाँ राजनीतिक शक्तिहरूको उदयलाई समयको माग भन्दै “नयाँको विकल्प झन् नयाँ मात्र हुन सक्छ” भन्ने धारणा सार्वजनिक गरेका छन्।
भट्टराईको यो अभिव्यक्ति नयाँ सरकारको कार्यशैली, संसदको अवस्था र विकसित राजनीतिक घटनाक्रमप्रति केन्द्रित रहेको विश्लेषण गरिएको छ।