सुदूरपश्चिम कांग्रेसमा शक्ति संघर्षको नयाँ मोड, नेता फेर्ने प्रस्ताव निष्क्रिय

1.7k Shares

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले दलको नेता परिवर्तन गर्ने प्रयास स्वतः निष्क्रिय भएको निष्कर्ष निकालेको छ। मुख्यमन्त्री तथा संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बुधबार बसेको बैठकले यससम्बन्धी निर्णय गरेको हो।

मुख्यमन्त्री शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमका अनुसार जेठ ८ गते प्रदेशसभा सदस्य मानबहादुर रावल र दिवानसिंह बिष्टसहितका सांसदहरूले दिएको निवेदनबारे बैठकमा छलफल भएको थियो। यसअघि जेठ १७ गते बसेको संसदीय दलको बैठकले वर्तमान सरकारले नै आगामी बजेट ल्याउने निर्णय गरिसकेको सन्दर्भमा उक्त हस्ताक्षर र प्रस्ताव स्वतः निष्क्रिय भएको निष्कर्ष निकालिएको हो।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, कांग्रेसको भूमिका तथा पार्टीभित्रको एकताका विषयमा समेत छलफल भएको थियो। सहभागी सांसदहरूले लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध रहँदै आन्तरिक मतभेदलाई संवाद र सहमतिमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका थिए।

बैठकमा नौ जना प्रदेशसभा सदस्य सहभागी भएका थिए। सहभागीमध्ये अधिकांश वर्तमान सरकारमा मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा रहेका छन्।

यसअघि जेठ ८ गते कांग्रेसका असन्तुष्ट सांसदहरूले संसदीय दलका नेता कमलबहादुर शाहलाई हटाउने उद्देश्यसहित दल नेता परिवर्तनको प्रस्ताव अघि बढाएका थिए। त्यसका लागि नौ जना सांसदको समर्थन जुटेको दाबी गरिएको थियो। तर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी सांसद डम्मरी महराले समर्थन फिर्ता लिएपछि अभियान कमजोर बनेको छ।

यद्यपि मुख्यमन्त्री परिवर्तन अभियानको नेतृत्व गरिरहेका सांसद दिवानसिंह बिष्टले भने प्रक्रिया समाप्त नभएको दाबी गरेका छन्। कांग्रेसको विधानअनुसार आवश्यक संख्या पुगे संसदीय दलको निर्वाचन सम्भव रहेको भन्दै उनले नेतृत्व परिवर्तनको प्रयास जारी रहने संकेत दिएका छन्।

कांग्रेसभित्रको यो विवादले सुदूरपश्चिम प्रदेशको सत्ता राजनीतिलाई थप रोचक बनाएको छ। मुख्यमन्त्री शाहले तत्कालका लागि राहत पाए पनि पार्टीभित्रको असन्तुष्टि पूर्ण रूपमा मत्थर भइसकेको देखिँदैन।

सम्बन्धित समाचार