काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री डा. धवलशमशेर राणालाई पार्टी त्याग्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्। महाधिवेशनको तयारी तीव्र भइरहेका बेला राणाको बहिर्गमनको समाचार सार्वजनिक भएपछि लिङ्देनले आश्चर्य व्यक्त गर्दै पार्टीभित्रै बसेर लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन आग्रह गरेका हुन्।
सोमबार जारी विज्ञप्तिमा अध्यक्ष लिङ्देनले राप्रपा पूर्ण रूपमा महाधिवेशनको तयारीमा केन्द्रित भइसकेको अवस्थामा पार्टीका महामन्त्रीकै बहिर्गमनको खबर अप्रत्याशित र दुःखद भएको उल्लेख गरेका छन्।
उनका अनुसार हालै सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी जेठ २८ र २९ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरिसकेको छ। उक्त बैठकले पार्टीको महाधिवेशन कार्यतालिका टुंगो लगाउनेछ। महाधिवेशनसम्बन्धी प्रस्ताव तयार पार्ने समितिमा स्वयं धवलशमशेर राणा पनि सहभागी रहेको लिङ्देनले स्मरण गराएका छन्।
“पार्टी महाधिवेशनको दिशामा अगाडि बढिरहेका बेला महामन्त्री राणाको बहिर्गमनको समाचारले आश्चर्यचकित बनाएको छ,” विज्ञप्तिमा भनिएको छ।
लिङ्देनले पार्टीका पूर्वअध्यक्षहरूको सुझाव, नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको भावना र पार्टी एकताको आवश्यकतालाई ध्यानमा राख्दै राणालाई आफ्नो निर्णय सच्याउन आग्रह गरेका छन्। उनले राणाले पार्टीभित्रै रहेर महाधिवेशनको प्रतिस्पर्धा र वैचारिक बहसमा सहभागी हुनुपर्ने धारणा राखेका छन्।
अध्यक्ष लिङ्देनले स्वदेश तथा विदेशमा रहेका पार्टीका नेता–कार्यकर्तालाई पनि संयमित रहन आह्वान गरेका छन्। पार्टी एकता कमजोर हुने वा कार्यकर्ताको भावनाविपरीत जाने गतिविधिमा संलग्न नहुन आग्रह गर्दै उनले स्थानीय तह तथा जिल्ला अधिवेशनलाई सफल बनाउन एकताबद्ध रूपमा जुट्न अपिल गरेका छन्।
धवलशमशेर राणाले हालै राप्रपा परित्याग गर्दै नयाँ राजनीतिक अभियान सुरु गर्ने घोषणा गरेका थिए। उनको निर्णयपछि राप्रपाभित्र नयाँ बहस सुरु भएको छ भने पार्टी नेतृत्वले उनलाई रोक्ने प्रयासलाई तीव्रता दिएको देखिएको छ।
महाधिवेशनको मुखमा पार्टीका प्रभावशाली नेताको बहिर्गमनले राप्रपाको आन्तरिक राजनीतिमा नयाँ तरंग ल्याएको छ। अब राणाले लिङ्देनको आग्रह स्वीकार गर्छन् वा आफ्नो नयाँ राजनीतिक यात्रालाई निरन्तरता दिन्छन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ।