बाढी–पहिरोको खतरा बढ्दै, काभ्रेका हजारौं नागरिक प्रभावित हुन सक्ने

1.4k Shares

काठमाडौं । मनसुन नजिकिँदै गर्दा काभ्रेपलाञ्चोक जिल्लाका ४७९ बस्ती बाढी र पहिरोको उच्च जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले जोखिमयुक्त बस्तीहरूको पहिचान गरे पनि सम्भावित विपद्का बेला आवश्यक पर्ने उद्धार तथा राहत सामग्री पर्याप्त नहुँदा चुनौती थपिएको छ।

जिल्लाका विभिन्न स्थानीय तहका हजारौं घरधुरी बाढी, पहिरो र डुबानको जोखिममा रहेको बताइएको छ। विशेषगरी रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिकु खोला तथा अन्य नदी तटीय क्षेत्रका बस्तीहरू बढी जोखिममा रहेको सरोकारवालाले जनाएका छन्।

गत वर्षको मनसुनमा काभ्रे बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित जिल्लामध्ये एक बनेको थियो। निरन्तर वर्षापछि आएको विपद्ले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो।

विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरूले जोखिमयुक्त क्षेत्रको पहिचान, सुरक्षित स्थानको व्यवस्था र उद्धार तयारीका काम गरिरहेको बताए पनि आवश्यक उपकरण, सामग्री तथा स्रोतसाधन पर्याप्त नभएको अवस्था रहेको जनाइएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका योजनाहरू प्रभावकारी कार्यान्वयन हुन नसक्दा हरेक वर्ष मनसुनी विपद्को जोखिम दोहोरिने गरेको विज्ञहरू बताउँछन्।

मनसुन अवधिमा सम्भावित क्षति न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित निकायहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्बन्धित समाचार