काठमाडौं । चार दलका युवा संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। राष्ट्रिय युवा संघ नेपाल, वाईसीएल नेपाल, युवा संघ नेपाल र नेपाल समाजवादी युवा संघले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै संसद् बैठकमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका हुन्।
विज्ञप्तिमा प्रधानमन्त्री शाहले संसद् सम्बोधनका क्रममा दिएको भनाइ राष्ट्रिय हितविरुद्ध भएको आरोप लगाउँदै जनतासँग सार्वजनिक रूपमा माफी मागेर तत्काल राजीनामा दिन आह्वान गरिएको छ। ‘जनविरोधी तथा राष्ट्रघाती गतिविधि देशभक्त र राष्ट्रप्रेमी युवाहरूका लागि सह्य हुन सक्दैन, विज्ञप्तिमा भनिएको छ, नेपाली जनताको धैर्यताको बाँध नटुट्दै जनता समक्ष माफी मागेर राजीनामा दिन प्रधानमन्त्री शाहलाई आह्वान गर्दछौं।
प्रधानमन्त्री शाहले संसद्मा सम्बोधन गर्ने क्रममा भारतले मात्र नभई नेपालले पनि भारतको सीमा मिचेको विषय आफू प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका थिए। उक्त अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा व्यापक आलोचना भइरहेको छ।
युवा संगठनहरूको संयुक्त विज्ञप्तिमा प्रधानमन्त्रीको उक्त भनाइ ‘अत्यन्तै गैरजिम्मेवार, राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत’ रहेको उल्लेख गरिएको छ। ‘प्रधानमन्त्री शाहको राष्ट्रघाती अभिव्यक्तिको घोर निन्दा एवं भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अभिव्यक्तिले कतै नेपाली भूमि भारतलाई सुम्पने षड्यन्त्र त होइन भन्ने आशंकासमेत पैदा भएको छ।’
साथै, विगतमा प्रधानमन्त्री शाह र उनी आबद्ध पार्टी रास्वपाले विभिन्न निर्णय लिनुअघि मिडिया ट्रायल गर्ने गरेको आरोप लगाउँदै यस घटनामा पनि त्यस्तै उद्देश्य लुकेको हुनसक्ने शंका व्यक्त गरिएको छ। भारतले अहिलेसम्म कतै दाबी नगरेको विषय प्रधानमन्त्रीबाट उठाइनु गम्भीर र आपत्तिजनक रहेको विज्ञप्तिमा उल्लेख छ।