प्रतिनिधिसभा बैठक विपक्षीको अवरोधपछि स्थगित, नियमावली मस्यौदा विवाद चर्कियो

1.6k Shares

काठमाडौँ । प्रतिनिधिसभाको बैठक विपक्षी सांसदहरूको अवरोधपछि स्थगित भएको छ । नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि प्राप्त संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा विपक्षीले अवरोध गरेपछि बैठक स्थगन गरिएको हो ।

सभामुख डोलप्रसाद अर्यालले संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने प्रक्रिया अघि बढाएसँगै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद वासना थापा ले नियमावली मस्यौदा समितिमा टुंग्याएर मात्र पूर्ण छलफलका लागि सदनमा ल्याउनुपर्ने भन्दै निर्णयार्थ प्रस्तुत नगर्न आग्रह गर्नुभएको थियो ।

सभामुखले कार्यसूचीअनुसार प्रक्रिया अघि बढाएपछि नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले ‘वेल’ घेराउ गरेका थिए । त्यस क्रममा सत्ता पक्ष र विपक्षी सांसदहरूबीच केहीबेर धकेलाधकेलसमेत भएको थियो ।

विवाद चर्किएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगन गर्नुभएको हो । त्यसअघि नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुली ले “समितिको प्रतिवेदन, २०८३ माथि दफावार छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सर्वसम्मतिले स्वीकृत गरिएको थियो ।

सभामुख अर्यालले मस्यौदामाथि ३५ वटा संशोधन सूचना प्राप्त भएको जानकारी पनि गराउनुभएको थियो । त्यसपछि सांसदहरूले आफ्ना संशोधन र धारणा प्रस्तुत गरेका थिए ।

नियमावली मस्यौदा समितिले गत चैत २३ गते १५ सदस्यीय समिति गठन गरेको थियो । समितिले वैशाख ८ गते मस्यौदा तयार गरी वैशाख २८ गते प्रतिनिधिसभा बैठकमा पेस गरेको थियो ।

सम्बन्धित समाचार