पाँचदिने भारत भ्रमणमा रवि लामिछाने

1.3k Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सोमबार पाँचदिने भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा रहने रास्वपाले जनाएको छ।

पार्टीले जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ। उनले भाजपा नेतृत्वसँग भेटघाट तथा छलफल गर्नुका साथै भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि अन्तरक्रिया गर्नेछन्। अयोध्या भ्रमणको कार्यक्रमसमेत तय गरिएको छ।

भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी हुनेछन्। रास्वपाका प्रवक्ता मनीष झाका अनुसार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उच्चस्तरीय भेटघाटका लागि आवश्यक समन्वय गरिरहेको छ।

रास्वपाले यस भ्रमणले नेपाल–भारत सम्बन्ध तथा दुई देशका राजनीतिक दलबीचको संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।

सम्बन्धित समाचार