प्रधानमन्त्रीको उपस्थितिमा संसदमा नियमावलीबारे तीव्र बहस

1.5k Shares

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह आइतबार प्रतिनिधिसभा बैठकमा संसदमा उठेका प्रश्नहरूको जवाफ दिन उपस्थित भएका छन् । प्रधानमन्त्रीको उपस्थितिमा सरकारका तर्फबाट जवाफ दिइए पनि विपक्षी दलहरूले भने संसद सञ्चालन प्रक्रिया र नियमावली उल्लंघन भएको भन्दै कडा आपत्ति जनाएका छन् ।

नेकपाका प्रमुख सचेतक युवाराज दुलालले प्रतिनिधिसभा नियमावलीअनुसार प्रश्न सोध्नुभन्दा कम्तीमा तीन दिनअघि नै प्रश्न दर्ता गरेर मात्र जवाफ दिने व्यवस्था भए पनि त्यसको पालना नभएको आरोप लगाए। उनले नियम उल्लंघनलाई गम्भीर विषय भन्दै यसलाई “राष्ट्रका लागि दुःखद” भनेका छन् ।

त्यस्तै, नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले पनि सोही विषय उठाउँदै संसदमा नियमापत्ति जनाए। उनका अनुसार संविधान र संसद नियमावलीअनुसार प्रश्न प्रक्रिया स्पष्ट छ, जसमा प्रश्नहरू निश्चित समयअघि दर्ता हुनुपर्ने व्यवस्था रहेको छ । उनले यो प्रक्रियालाई बेवास्ता गरिएको दाबी गरे ।

विपक्षी दलहरूको आपत्तिपछि संसद बैठकमा केहीबेर तनावपूर्ण अवस्था बनेको थियो । तर, सभामुख डीपी आर्यालले भने विपक्षीको दाबी अस्वीकार गर्दै नियमावलीमा १५ जना सांसदले प्रश्न गर्न पाउने भन्ने व्यवस्था नरहेको स्पष्ट पारे। उनले प्रश्न–उत्तर प्रक्रिया नियमअनुसार नै सञ्चालन भएको बताएका छन् ।

संसदमा प्रधानमन्त्रीको जवाफपछि देखिएको यो विवादले नियमावलीको व्याख्या र संसदीय अभ्यासबारे थप बहस सिर्जना गरेको छ।

 
 
सम्बन्धित समाचार