सरकार गरिबी हटाउने होइन, गरिबलाई नै मार्ने दिशामा अघि बढिरहेको छ : गगन थापा
1.8k
Shares
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सिद्धान्त र प्राथमिकतामाथि कडा आलोचना गरेका छन् ।
उनले सरकार गरिबी न्यूनीकरणतर्फ नभई गरिब नागरिकलाई झन् समस्यामा पार्ने दिशामा अघि बढिरहेको आरोप लगाए । उनले सरकारको नीति तथा कार्यक्रमले आम नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने आधार प्रस्तुत गर्न नसकेको बताए ।
“सरकार गरिबी हटाउने दिशामा होइन, गरिबलाई नै मार्ने दिशामा अघि बढिरहेको छ,” थापाले भने, “जनताको आय बढाउने, रोजगारी सिर्जना गर्ने र उत्पादन वृद्धि गर्ने स्पष्ट योजना सरकारसँग देखिएको छैन ।”
उनले मुलुकको अर्थतन्त्रमा देखिएको सुस्तता, युवाको बढ्दो विदेश पलायन, कृषि क्षेत्रको निराशाजनक अवस्था तथा उद्योग–व्यवसायमा आएको मन्दीप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाए ।
जनताले भोगिरहेका वास्तविक समस्याको समाधान गर्नेभन्दा पनि औपचारिक र परम्परागत कार्यक्रमलाई निरन्तरता दिने काम मात्र भएको उनको भनाइ थियो । थापाले बजेटका प्राथमिकतामा उत्पादन वृद्धि, उद्यमशीलता प्रवर्द्धन, निजी क्षेत्रको मनोबल उकास्ने योजना तथा युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने कार्यक्रम समावेश हुनुपर्ने बताए । उनले आर्थिक वृद्धि र रोजगारी सिर्जना बिना समृद्धिको लक्ष्य हासिल हुन नसक्ने धारणा राखे ।
सरकारले प्रस्तुत गरेका सिद्धान्त र प्राथमिकताले आर्थिक सुधारको स्पष्ट मार्गचित्र दिन नसकेको जिकिर गर्दै थापाले आगामी बजेट जनमुखी, उत्पादनमुखी र परिणाममुखी हुनुपर्नेमा जोड दिए । उनले सरकारलाई नागरिकको जीवनस्तर सुधार र अर्थतन्त्रलाई चलायमान बनाउने ठोस कार्यक्रम ल्याउन आग्रह गरे ।
प्रतिनिधिसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहेको छ भने सांसदहरूले सरकारका आर्थिक नीति र प्राथमिकताबारे आ-आफ्नो धारणा राखिरहेका छन् ।