संविधान र गणतन्त्र संकटमा रहेको ओलीको दाबी

1.7k Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको बताएका छन्।

एमालेले सार्वजनिक गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा अध्यक्ष ओलीले लामो संघर्ष र बलिदानबाट प्राप्त नेपालको संविधान संकटमा परेको तथा लोकतान्त्रिक गणतन्त्रको भविष्यसमेत जोखिममा रहेको उल्लेख गरेका छन्।

उनले लोकतन्त्र स्थापनाका लागि संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई नयाँ तथा पुरानाको नाममा विस्थापित गर्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन्।

ओलीले भू–राजनीतिक द्वन्द्वका बीच नेपालको भूमि दुरुपयोग गर्न खोज्ने स्वार्थी शक्तिहरू सक्रिय रहेको र सरकारका केही गतिविधिका कारण मुलुकको भौगोलिक अखण्डतामाथि समेत प्रश्न उठ्ने अवस्था सिर्जना भएको बताएका छन्।

उनका अनुसार वर्तमान परिस्थितिमा पार्टी आन्दोलनलाई मात्र होइन, संविधान र लोकतान्त्रिक भविष्यको रक्षा गर्ने जिम्मेवारी पनि एमालेको काँधमा आएको छ। विश्व व्यवस्थामा भइरहेको परिवर्तनका कारण क्षेत्रीय अस्थिरता बढ्न सक्ने भएकाले नेपालको सार्वभौमसत्ता र अखण्डता सुरक्षित राख्न एमाले थप सुदृढ र सबल हुनुपर्ने उनले बताएका छन्।

अपानिमा फागुन २१ गतेको निर्वाचन परिणामलाई ‘अस्वाभाविक’ भन्दै त्यसबाट पार्टी चिन्तित रहेको उल्लेख गरिएको छ। निर्वाचनमा एमाले मात्र नभई अन्य प्रमुख लोकतान्त्रिक दलहरू पनि कमजोर बनेको र त्यसका कारणबारे क्रमशः समीक्षा गरिने जनाइएको छ।

अध्यक्ष ओलीले निर्वाचनपछिको निराशा तथा पार्टीभित्र देखिएको पलायन प्रवृत्ति रोक्न आवश्यक रहेको उल्लेख गर्दै पार्टी समीक्षा प्रक्रियामा रहेको बताएका छन्। केन्द्रीय कमिटी बैठकमार्फत पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढाइने तथा सदस्यता नवीकरण अभियानबाट पार्टीलाई थप सुदृढ बनाइने उनको भनाइ छ।

इतिहासमा अनेक चुनौती पार गर्दै एमाले राष्ट्रिय राजनीतिको केन्द्रीय शक्तिका रूपमा स्थापित भएको स्मरण गराउँदै उनले सम्पूर्ण पार्टीपंक्तिलाई सक्रिय रूपमा काममा जुट्न आह्वान गरेका छन्।

सम्बन्धित समाचार