टुँडिखेलमा गणतन्त्र दिवस समारोह : पूर्वप्रधानमन्त्रीहरूलाई निमन्त्रणा नभएको खुलासा
1.1k
Shares
काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजना गरिएको विशेष समारोहमा पूर्वप्रधानमन्त्रीहरूलाई निमन्त्रणा नगरिएको पाइएको छ।
शुक्रबार आयोजित उक्त कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहे पनि पूर्वप्रधानमन्त्रीहरू सुशीला कार्की, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल र झलनाथ खनाल उपस्थित थिएनन्। देउवा स्वास्थ्य उपचारका लागि विदेश गएको र हालसम्म नफर्किएको जनाइएको छ।
पूर्वप्रधानमन्त्री खनालले आफूलाई टुँडिखेलमा आयोजित समारोहका लागि औपचारिक निमन्त्रणा नआएको बताएका छन्। उनले अन्य सरकारका समयमा निमन्त्रणा आउने गरे पनि यस पटक कुनै पत्राचार नभएको स्पष्ट पारेका छन्। यद्यपि, उनले यसलाई ठूलो राजनीतिक मुद्दा नबनाउने प्रतिक्रिया दिएका छन्।
त्यस्तै, दाहालको सचिवालयले पूर्वप्रधानमन्त्रीको हैसियतमा निमन्त्रणा नआएको तर प्रतिनिधिसभा सदस्यका रूपमा पत्राचार गरिएको जनाएको छ।
समारोहमा मुलुकको कार्यकारी प्रमुखले सम्बोधन गर्ने परम्परा भए पनि यस पटक प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगरेको विषयले पनि चर्चा पाएको छ। सो कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए।
प्रधानमन्त्रीले सम्बोधन नगरेको विषयलाई लिएर विभिन्न राजनीतिक वृत्तमा आलोचना भइरहेको छ। पूर्वप्रधानमन्त्री खनालले गणतन्त्र दिवसजस्तो महत्वपूर्ण अवसरमा प्रधानमन्त्रीको अनुपस्थितिले व्यवस्थाप्रति अनास्था देखिएको टिप्पणी गरेका छन्।