काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट आज अपराह्न ४ बजे सार्वजनिक गर्ने तयारी गरेको छ । बजेट प्रस्तुत गर्नुअघि दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्ने तय भएको छ ।
मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको आय–व्यय विवरणलाई अन्तिम स्वीकृति दिएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सरकारले आज नयाँ बजेट सार्वजनिक गर्न लागेको हो ।
यस वर्षको बजेटको आकार २१ खर्ब रुपैयाँभन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ । सरकारले पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धि, ऊर्जा, पर्यटन तथा सूचना प्रविधिलाई प्राथमिकतामा राख्ने तयारी गरेको स्रोतले जनाएको छ ।
राजस्व संकलनमा दबाब, बढ्दो सार्वजनिक ऋण र सुस्त आर्थिक गतिविधिबीच आउन लागेको बजेटलाई अर्थतन्त्र चलायमान बनाउने दस्तावेजका रूपमा हेरिएको छ । निजी क्षेत्रले उत्पादन र लगानी प्रोत्साहन गर्ने नीति तथा कर संरचनामा सहजीकरणको अपेक्षा गरेका छन् ।
बजेट सार्वजनिक भएपछि त्यसका कार्यक्रम, कर नीति र खर्च प्राथमिकताबारे राजनीतिक तथा आर्थिक वृत्तमा व्यापक बहस हुने अपेक्षा गरिएको छ ।