देशका विभिन्न क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना

2k Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको जनाएको छ। यसको प्रभावका कारण देशका विभिन्न प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना देखिएको महाशाखाले उल्लेख गरेको छ।

महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली रहनेछ भने बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका केही पहाडी क्षेत्रमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

त्यसैगरी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा पानी पर्ने सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने गर्मी बढ्ने र तातो दिनको अवस्था रहने अनुमान गरिएको छ।

मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा अपराह्नपछि हावाहुरी चल्न सक्ने चेतावनी महाशाखाले दिएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेस प्रदेश तथा अन्य पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने अनुमान छ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

 
 
सम्बन्धित समाचार