काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट शिक्षाविद् प्रिय गिरीलाई राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा पुनः नियुक्त गरिएको छ। यससँगै उनी आयोगको दोस्रो पटक उच्च नेतृत्वमा फर्किएका हुन्।
सरकारको निर्णयअनुसार गिरीले अब चिकित्सा शिक्षा क्षेत्रको नीति कार्यान्वयन, गुणस्तर सुधार र नियमन प्रणालीलाई प्रभावकारी बनाउने जिम्मेवारी सम्हाल्नेछन्।
यसअघि पनि उपाध्यक्षका रूपमा कार्यरत रहँदा उनले चिकित्सा शिक्षा ऐन कार्यान्वयन, मेडिकल कलेजको सिट निर्धारण, र प्रवेश परीक्षा प्रणाली सुधारमा भूमिका निर्वाह गरेका थिए। त्यसबेला आयोगका निर्णयहरूलाई कार्यान्वयनमुखी बनाउने प्रयास भएको बताइन्छ।
पुनः जिम्मेवारी पाएपछि गिरीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै विद्यार्थीमैत्री, पारदर्शी र गुणस्तरीय प्रणाली विकासमा ध्यान दिने संकेत गरेका छन्।
शिक्षा तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले भने उनको पुनः नियुक्तिलाई सकारात्मक रूपमा लिँदै सुधारका प्रयासलाई निरन्तरता दिनुपर्ने प्रतिक्रिया दिएका छन्।