बेलायती मन्त्री सीमा मल्होत्राले नेपालसँग प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुने बताएकी छन्।
नेपाल भ्रमणका क्रममा आयोजित “नेपालका लागि बेलायतको शैक्षिक साझेदारी” सम्बन्धी उच्चस्तरीय छलफलमा उनले नेपालसँगको शिक्षा साझेदारीलाई थप विस्तार गर्दै विशेषगरी प्राविधिक शिक्षा, सीप विकास र रोजगारीसँग जोडिएको शिक्षामा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
उनका अनुसार बेलायत सरकारले मानव पूँजी (human capital) विकासलाई प्राथमिकता दिँदै शिक्षा र रोजगारीबीचको सम्बन्धलाई सुदृढ बनाउन चाहन्छ। नेपालमा बेलायती शैक्षिक कार्यक्रम, विश्वविद्यालय सहकार्य र विद्यार्थी आदान–प्रदानमार्फत सहकार्य अझ बढाउन सकिने उनले उल्लेख गरिन्।
त्यस अवसरमा उनले नेपालका विश्वविद्यालयहरूसँग मिलेर उच्च शिक्षामा गुणस्तरीय कार्यक्रम सञ्चालन गर्ने र प्राविधिक शिक्षाको पहुँच विस्तारमा सहयोग गर्ने विषयमा पनि जोड दिएकी थिइन्।
नेपाल पक्षले पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (TVET) क्षेत्रमा थप अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएको छ।