काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ मा सहभागी हुने विद्यार्थीका लागि रजिस्ट्रेसन फाराम भर्ने सूचना जारी गरेको छ। शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययनरत विद्यार्थीले एसईई २०८४ का लागि रजिस्ट्रेसन फाराम भर्न सक्ने भएका छन्।
बोर्डका अनुसार विद्यार्थीले २०८३ कात्तिक ९ गतेदेखि मंसिर १३ गतेसम्म रजिस्ट्रेसन फाराम भरिसक्नुपर्नेछ। यसका लागि प्रतिविद्यार्थी ३०० रुपैयाँ राजस्व शुल्क तोकिएको छ।
यो व्यवस्था साधारण धारका साथै परम्परागत तथा प्राविधिक शिक्षातर्फ कक्षा ९ मा अध्ययनरत विद्यार्थीका लागि पनि लागू हुने जनाइएको छ। विद्यार्थीले सम्बन्धित विद्यालयमार्फत निर्धारित समयभित्र फाराम भर्नुपर्नेछ।
त्यसैगरी, राष्ट्रिय परीक्षा बोर्डले एसईई २०८४ मा सहभागी हुने विद्यार्थीका लागि परीक्षा आवेदन फारामसम्बन्धी छुट्टै सूचना पनि जारी गरेको छ। बोर्डले तोकेको समयसीमा र प्रक्रिया पालना गरी फाराम भर्न सम्बन्धित विद्यार्थी तथा विद्यालयलाई आग्रह गरेको छ।
एसईई २०८४ को रजिस्ट्रेसन तथा परीक्षा आवेदनसम्बन्धी विस्तृत जानकारी राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइटमा उपलब्ध सूचनाबाट प्राप्त गर्न सकिनेछ।