अनधिकृत परामर्श संस्थाबाट टाढा रहन मन्त्रालयको आग्रह
2.1k
Shares
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी तथा अभिभावकहरूलाई नवीकृत (लाइसेन्स प्राप्त) शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन आग्रह गरेको छ ।
मन्त्रालयले हाल देशमा केही अनधिकृत तथा म्याद नाघेका परामर्श संस्थाहरूले विद्यार्थीलाई भ्रममा पारेर सेवा दिइरहेको गुनासो बढेपछि यस्तो चेतावनी जारी गरेको हो ।
मन्त्रालयका अनुसार वैध रूपमा दर्ता र नवीकरण भएका संस्थाहरूले मात्रै विदेश अध्ययन परामर्श, भर्ना प्रक्रिया तथा अन्य शैक्षिक सेवा प्रदान गर्न पाउने व्यवस्था रहेको छ । अनधिकृत संस्थाबाट सेवा लिँदा विद्यार्थी आर्थिक तथा शैक्षिक जोखिममा पर्न सक्ने भएकाले सचेत रहन पनि आग्रह गरिएको छ ।
मन्त्रालयले विद्यार्थी तथा अभिभावकलाई सेवा लिनुअघि सम्बन्धित संस्थाको नवीकरण अवस्था अनिवार्य रूपमा जाँच गर्न र आधिकारिक स्रोतमार्फत मात्र परामर्श लिन अनुरोध गरेको छ ।
साथै, नियम उल्लंघन गर्ने संस्थामाथि कानुनी कारबाही कडाइका साथ अघि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ ।